सुडान र अमेरिका सम्बन्धमा ‘महत्वपूर्ण परिवर्तन’ आएको पोम्पेओको भनाइ
वाशिङ्टन। अमेरिकाको सुडानसँगको सम्बन्धमा आधिकारिक रूपमा महत्वपूर्ण परिवर्तन भएको अमेरिकी अधिकारीले सोमबार बताएका छन्।
अमेरिकी आतङ्कवादको कालोसूचीबाट सुडान हटेपछि सुडान र अमेरिकाबीचको सम्बन्धमा ‘महत्वपूर्ण परिवर्तन भएको’ भन्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सुडानका प्रजातान्त्रिक प्रयासहरूको प्रशंसा गरेका हुन्।
पोम्पेओले एक विज्ञप्तिमा भनेका छन्, “आतंकवादलाई प्रायोजन गर्ने राज्यका रूपमा अब सुडानलाई राख्न नपर्ने निश्कर्षका साथ सुडानमाथि यस पहिले लगाइएका प्रतिबन्धहरू फुकुवा गरिएको छ।”
सुडानले आतङ्कवादलाई प्रायोजन गरेको भन्दै सन् १९९३ देखि विभिन्न प्रतिबन्धहरूको सामना गर्दै आएको थियो। यसका कारण अधिकांश विदेशी लगानीकर्ताहरूले लगानी गर्न अनिच्छा प्रकट गरेपछि यहाँको अर्थतन्त्र थप धराशायी बनेको थियो।
गत वर्ष लामो समयसम्म सत्तामा रहेका सुडानी शासक ओमार अल बसीरलाई यहाँको जन आन्दोलनको बल र सेनाको सहयोगमा नेतृत्वबाट हटाइएको थियो। यो सरकारले सुडानको ऐतिहासिक प्रजातान्त्रिक सङ्क्रमणकाल सुरु भएको घोषणा गरेको थियो। अहिले सुडानमा सङ्क्रमणकालीन सरकार बनेको छ। यसले निकट भविष्यमा निर्वाचन गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी पाएको छ।
तत्कालिन शासक ओमारले अल कायदालाई स्वागत गरेको आरोप अमेरिका लगायतका उसका सहयोगीहरूले लगाउने गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टूबरमा सुडानलाई आतङ्कवादीलाई प्रायोजन गर्ने राष्ट्र भनी लगाएको ‘लेबल’लाई हटाउने बताएका थिए। अमेरिकी काङ्ग्रेसले ४५ दिनभित्र राष्ट्रपतिको उक्त भनाइप्रति कुनै आपत्ति नगरेपछि पोम्पेओले गरेको हस्ताक्षरले वैधता पाएको हो।
पोम्पेओले भनेका छन्, “हामी स्वतन्त्रता, शान्ति र न्यायका लागि सुडानी जनताको आह्वानको सराहना गर्दछौं र हामी नागरिक अगुवाईमा सङ्क्रमणकालीन सरकारका सदस्यहरुलाई उनीहरुको सेवा गर्ने नागरिकको आकांक्षालाई अगाडि बढाउन साहसको लागि बधाई दिन्छौं।” (एएफपी)







डिसी नेपाल








Facebook Comment