अपहरण गरी बेपत्ता बनाएको अभियोगमा थुनामा

डिसी नेपाल
१६ पुष २०७७ २३:३९

सप्तरी । आफ्नै साथीलाई बेपत्ता बनाएको आरोपमा विष्णुपुर गाउँपालिका–१ जमुनीका २५ वर्षीय सुरेन भनिने सुरेन्द्र यादव आज थुनामा परेका छन् । जिल्ला न्यायाधीश ऋषिराम आचार्यको इजलासले यादवलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बेपत्ता श्रवण मुखियाका बुवा मनोरथको जाहेरीमा अपहरण गरी मानिस बेपत्ता बनाइएको मुद्दामा यादव पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

तीन वर्षपछि मलेसियाबाट घर फर्किएका मुखियालाई यादवले गत असोज २४ गते मोटरसाइकलमा चढाएर लागुपदार्थ सेवनका लागि भारततर्फ लगेको गाउँले बताउँछन् । भारत पुगेर लागुपदार्थ सेवन गरेर मातिएका अवस्थामा साँझ फर्किएका उनीहरूबीच मोबाइल हराएको विषयमा विवाद चर्किएपछि यादवले योजना बनाई हत्या गरेको अनुमान गरिएको छ ।

मुखियाको हत्या गरी डाक्नेश्वरी नगरपालिका–६ स्थित पाँची नदीमा फालेको गाउँलेसँग स्वीकारेपछि नै गाउँलेले आरोपित यादवलाई असोज २८ गते प्रहरीसमक्ष बुझाएको प्रहरीले जनाएको छ । स्थानीयवासी हरेराम मण्डलका अनुसार मुखियाबारे गाउँलेले यादवसँग बसेर घण्टौं सोधखोज र केरकार गरेपछि असोज २७ गते राति २ बजे आरोपितले हत्या गरेको स्वीकारेका थिए ।

मनोरथको बयानका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले पाँची नदी छेउमा रगतको टाटा र मुखियाको चप्पल फेला पारेको प्रहरी उपरीक्षक धमलाले बताए। स्काभेटर र रबर बोटसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले असोज २८ गतेदेखि बेपत्ता मुखियाको खोजी गरे पनि फेला नपरेको उनको भनाइ छ ।

्हत्याको आशङ्कामा खोजिएका मुखियाबारे पत्ता लाग्न नसकेपछि आरोपितविरुद्ध प्रहरीले कर्तव्य ज्यानको उजूरी दर्ता नगरी अपहरण गरेर मानिस बेपत्ता बनाएको मुद्दामा कारवाही थालेको हो । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अपहरण गरी मानिस बेपत्ता बनाएको उजूरी इलाका प्रहरी कार्यालय कल्याणपुरले गत मङ्सिर १७ गते दर्ता गरेको थियो ।

लागुऔषध मुद्दामा अदालतको फैसलानुसार दुई महिनाको कैद भुक्तान गरिसकेका यादवलाई हाल अपहरण गरी मानिस बेपत्ता बनाएको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा राखिएको निमित्त कारागार प्रमुख सञ्जयकुमार रामले जानकारी दिए।

घुस लिएको अभियोगमा आरोपपत्र दायर

प्रहरीचौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दरप्रसाद कानुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आरोपपत्र दायर गरेको छ । घुस लिई भ्रष्टाचार गरेको आरोपमा कानुमाथि रु ५० हजारको बिगो कायम गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए। आयोगले पुस १६ गते एक प्रेस विज्ञप्ति जारी गरी सेवाग्राहीसँग रु ५० हजार घुस÷रिसवत वापतको रकम लिएको अवस्थामा कानुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीचौकी तिलाठीमा बरामद गरी राखिएको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार लिएको अभियोगमा प्रनानि कानुलाई आयोगको टोलीले कात्तिक २६ गते थलोमै पक्राउ गरेको थियो ।

सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजूरी निवेदनका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिगएको टोलीले सेवाग्राहीसँग घुसवापतको रकम लिइसकेको अभियोगमा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका सिलसिलामा प्रहरीचौकी तिलाठीमा कार्यरत प्रनानि कानुले सेवाग्राहीसँग रु ५० हजार लिई उक्त रकम छेउका पसलमा लगिराखेको अभियोगमा बरामद भएको थियो । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको देखिंँदा निज कानुलाई बिगो रु ५० हजार कायम गरी सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता अधिकारीले बताए । खाद्यान्न सामानसहित बरामद मोटरसाइकल छाड्न प्रनानि कानुले सेवाग्राहीसँग रकम लिएको अभियोग छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *