दुई दम्पत्तिको शंकास्पद मृत्यु : प्रहरीको अनुसन्धान कहाँ पुग्यो ?

डिसी नेपाल
७ माघ २०७७ १९:३४

काठमाडौं। एक हप्ता अघि काठमाडौको टोखामा उमेश केसी र सुदिक्षा केसी मृत अवस्थामा फेला परे। उनीहरु दम्पत्ति थिए। उनीहरुको मृत्युको कारणबारे महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त महाराजगन्जले सो विषयमा अनुसन्धान गर्यो। ती दुवै निकायले उमेश र सुदिक्षाको मृत्युबारे हत्या र आत्महत्या भएको निष्कर्ष निकालेका छन्। सुदीक्षाले उमेशको हत्या गरेको र त्यसपछि सुदिक्षाले आत्महत्या गरेको आशंका दुवै निकायको छ।

यद्यपि प्रकरणलाई प्रहरीले अझै अनुसन्धानकै क्रममा राखेको छ। अपराधको कुनै कारणहरु खुल्न सक्छन वा हत्या आत्महत्याको कुनै कारण पत्ता लाग्न सक्छ कि भन्ने प्रहरीको भनाइ छ। ‘अझै पनि केही तथ्यहरु कारणहरु फेला पर्न सक्छन् उनीहरुको विषयमा अहिले नै फाइल क्लोज गर्ने बेला भएको छैन’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने।

उमेश र सुदिक्षाको मृत्यु भएको एक सातापछि ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा घरभित्रै मृत अवस्थामा एक दम्पत्ति फेला परे। सप्तरीको राजविराज स्थायी घर भएका उनीहरु लामो समयदेखि ललितपुरमा बस्दै आएका थिए। ३२ वर्षीय सागर पोखरेल र २२ वर्षीय निर्मला बीच गत वर्षको फागुनमा विवाह भएको थियो। तर उनीहरुले सोमबार मृत्युको बाटो रोजे। उनीहरुको विवाह भएको एक वर्षमै आत्महत्याको बाटो किन रोजे यो प्रश्नले पनि प्रहरीलाई पिरोलो दिइरहेको छ।

प्रहरीका अनुसार उनीहरु आमाबुबासँग बस्दै आएको र आमाबुबा आफन्तकोमा गएको बेला आत्महत्याको बाटो रोजेका थिए। ‘गत शुक्रबार बुबाआमा आफन्तकहाँ गएका रहेछन् आइतबार बुबाआमाले फोन सम्पर्क गर्दा फोन नउठाएपछि घरबेटीलाई फोन गरेको देखियो र घरबेटीले कोठाको झ्याल खोलेर हेर्दा अस्वाभाविक अवस्था देखेपछि प्रहरीलाई खबर गरेपछि हाम्रो टोली त्यहाँ गएको थियो’, महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले भनिन्।

प्रहरीले दिएको जानकारी अनुसार सागर चार वर्षदेखि सो घरमा बस्दै आएका थिए। उनी भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए। कोठमा प्रहरीले स्लफर नामको विषादीको बट्टा फेला पारेको र विष सेवनबाट नै आत्महत्या गरेका हुनसक्ने प्रहरीको दावी छ। ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौ’, एसएसपी बज्राचार्यले भनिन्। उनका अनुसार उनीहरुको मृत्युको कारण अहिलेसम्म खुलेको छैन। अहिले दुवैको मोवाइल अध्ययन गर्ने कार्य भैरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *