माछा मार्न जाँदा बालुवामा भेटियो ढुंगाजस्तो चीज, २० वर्षे युवक साढे ३ करोडको मालिक
काठमाडौं। थाइल्याण्डका २० वर्षका माछा मार्ने काम गर्ने युवक कामबाट फर्किने क्रममा बालुवामा भेटेको डल्लोका कारण करोडपति बन्ने भएका छन् । उनले जनवरी ६ का दिन माछा मारेर फर्किने क्रममा बालुवामा मैनजस्तो डल्लो भेटेका थिए । यो डल्लो ह्वेलको बान्ता हुन सक्ने र यसको मूल्य २ लाख १० हजार पाउण्ड (३ करोड ३६ लाख रुपैयाँ) बराबर पर्ने डेलीमेलको रिपोर्टमा उल्लेख छ ।
चालेरम्चाइ महापनले जनवरी ६ का दिन दक्षिणी सोङख्ला प्रान्तको समिला बीचमा आफ्नो माछा मार्ने डुंगालाई किनारामा बाँधेर फर्किने क्रममा यो ७ किलोको डल्लो भेटेका थिए । उनका अनुसार त्यस दिन उनी मोलेट माछा मार्न भनेर गएका थिए तर अचानक मौसम खराब भएपछि उनी चाँडै किनारामा आउनु परेको थियो । उनले डुंगा थन्क्याएर फर्किने क्रममा किनारामा सेतो डल्लो देखे जसलाई पानीको छालले किनारतर्फ धकेलिरहेको थियो ।
सुरुमा उनलाई त्यो साधारण ढुङ्गाजस्तो लाग्यो तर नजिकबाट हेरेपछि भने उनलाई त्यो कुनै मूल्यवान वस्तु हुन सक्ने शंका भयो । उनले त्यो डल्लोलाई घर लिएर आए । ‘मलाई यो के हो भन्ने थाहा थिएन । मैले गाउँमा आएर बुढापाकालाई यसबारे सोधें । उनीहरुले यो एम्बरग्रिस हुन सक्ने बताए’ उनले भने । एम्बरग्रिस स्पर्म ह्वेलको पेटभित्र बन्छ । कहिलेकाहीँ यो डल्लो ह्वेलले मुखबाट ओकल्छ जुन पानीमा किनारतर्फ धकेलिइरहेको अवस्थामा भेटिन्छ ।
एम्बरग्रिसको गन्ध सुरुमा खराब हुन्छ तर सुख्खा हुँदै गएपछि भने यसबाट निकै मिठो सुगन्ध आउँछ र यो सुगन्ध लामो समयसम्म टिक्छ । यसलाई वास्नादार परफ्युम बनाउन प्रयोग गरिन्छ । यो निकै दुर्लभ हुने भएकोले निकै महंगो मूल्यमा बिक्री हुन्छ । चालेरम्चाइले भेटेको डल्लाको सानो अंश परीक्षणको लागि प्रयोगशाला पठाइएको छ । उनी अब यो डल्लोलाई बेच्न ग्राहक खोजिरहेका छन् । ‘मलाई बेच्न हतार छैन’ उनले भने ‘एकजना एजेन्टले अन्तर्राष्ट्रिय ग्राहक खोज्दैछन् ।’







डिसी नेपाल







Facebook Comment