डोनाल्ड ट्रम्पको संकटको समय आजदेखि सुरु हुँदै
काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको संकटको समय आजदेखि सुरु हुँदैछ । संसदको तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरिसकेपछि नयाँ निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण र उनको नयाँ मन्त्रिपरिषदबारे सुनुवाइका कारण रोकिएको महाअभियोगको कारवाही आजदेखि पुनः सुचारु हुँदैछ । आज हाउस अफ रिप्रेजेन्टेटिभले महाअभियोगको प्रति माथिल्लो सदन सिनेटमा पठाउनेछ । त्यसपछि महाअभियोग प्रस्तावमाथि सुनुवाइ सुरु हुनेछ ।
अमेरिकी लोकतन्त्रको २ सय ३१ वर्षको इतिहासमा कुनै राष्ट्रपतिले दोस्रो पटक महाअभियोगको सामना गरिरहेको यो पहिलो पटक हुनेछ । आज महाअभियोगको प्रति सिनेट पठाइएसँगै महाअभियोगको प्रक्रिया सुरु हुनेछ । ट्रम्प अब पूर्व राष्ट्रपति भइसकेकोले सिनेटरहरुको कमिटी न्यायाधीशको भूमिकामा हुनेछ । यसको लागि कमिटीका सदस्य सिनेटरहरुले भोलि शपथ ग्रहण गर्नेछन् । राजनैतिक विचारधाराका आधारमा भेदभाव नहोस् भनेर यसरी शपथ ग्रहण गर्ने गरिन्छ । त्यसपछि ट्रम्पलाई कानुनी नोट पठाइनेछ । सुरुवातमा ट्रम्पका वकिलले उनको पक्ष राख्नेछन् । पछि ट्रम्प स्वयं पनि पेश हुन सक्छन् ।
ट्रम्पले ८ जनवरीका आफ्ना वकिलमार्फत सिनेटको कमिटीमा आफ्नो पक्ष राख्नेछन् । भोलिपल्ट सिनेटले आफ्नो जवाफ दिनेछ । त्यसपछि ट्रायल सुरु हुनेछ । बहालवाला राष्ट्रपतिमाथि महाअभियोगको सुनुवाइ हुँदा प्रधानन्यायाधीशको रेखदेखका हुन्छ । यसअघि ट्रम्पमाथि लगाइएको महाअभियोगको सुनुवाइ हुँदा प्रधानन्यायाधीश जोन रोबर्डसले सुनुवाइको अध्यक्षता गरेका थिए । तर, अहिले ट्रम्प पूर्वराष्ट्रपति भइसकेकोले प्रधानन्यायाधीशले यो विषय हेर्न मिल्दैन । त्यसैले स्वयं सिनेटले यो विषय हेर्नेछ ।
९ जना डेमोक्रेटिक सांसद सिनेट ट्रायलको क्रममा अभियोजन पक्षको रुपमा रहनेछन् । टिमको नेतृत्व संवैधानिक कानुन विशेषज्ञ जेमी रस्किनले गर्नेछिन् । डेभिड सिसिलिन, जोकिन कास्त्रो, डायना डिगेट, मेडलिन डीन, टेड लिउ, जो नेग्युस, स्टेसी प्लास्केट र एरिक स्वावेल अभियोजन टिमका सदस्य छन् । ट्रम्पले आफ्नो पक्ष राख्नको लागि दक्षिण क्यारोलिनाका वकिल बुच बोवर्सलाई नियुक्त गरेको बताएका छन् । विशेषज्ञहरुका अनुसार डेमोक्र्याटहरु ट्रम्पलाई २०२४ को चुनाब लड्न रोक्न सकियोस् भन्ने चाहन्छन् जसको लागि अहिले महाअभियोग एकमात्र विकल्प हो ।
महाअभियोग दुई तिहाइ बहुमतले मात्रै पारित हुन सक्छ । १०० सदस्यीय हुनुपर्ने सिनेटमा अहिले ९८ सदस्य मात्र छन् । २ स्थान रिक्त छ । ९८ सिनेटरमध्ये ५० जना ट्रम्पको पार्टी अर्थात रिपब्लिकन हुन् र ४८ जना डेमोक्र्याट सिनेटर छन् । महाअभियोग पारित हुन ६५ जना सिनेटर ट्रम्पको विपक्षमा हुनुपर्छ । यस्तोमा ट्रम्पकै पार्टीको बहुमत रहेको सिनेटबाट महाअभियोग पारित हुन कठिन देखिन्छ ।
तर, यसअघि तल्लो सदनबाट महाअभियोग पारित गर्ने क्रममा ट्रम्पकै पार्टीका १० जना सांसद ट्रम्पको विपक्षमा उभिएका थिए । यस्तो पृष्ठभूमिमा ट्रम्पको पार्टीका सिनेटर ट्रम्पको विपक्षमा जाने सम्भावना पनि बलियो छ । यदि १७ जना रिपब्लिकन सिनेटरले ट्रम्पको विपक्षमा मतदान गरे भने ट्रम्पमाथि महाअभियोग पारित हुनेछ र उनी २०२४ को चुनाब लड्न पाउने छैनन् ।







डिसी नेपाल







Facebook Comment