फ्लोरिडामा आफ्नै घरमा गएर बसेका डोनाल्ड ट्रम्प त्यो घरबाट पनि निकालिन सक्छन्
काठमाडौं। ह्वाइट हाउस छोडेपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाको पाम बीचमा रहेको आफ्नो रिसोर्टमा गएर बसेका छन् । तर, रिसोर्टसँग सम्बन्धित एक सम्झौताका कारण ट्रम्प त्यो घरबाट पनि निकालिन सक्छन् । खासमा रिसोर्ट भएको भवन ट्रम्पकै हो तर आफ्नै सम्पत्ति भएर पनि ट्रम्प त्यहाँ बस्न नपाउने स्थितिको सृजना भएको छ ।
ट्रम्पको रिसोर्ट भएको भवन एक ऐतिहासिक भवन हो । त्यो भवनलाई ट्रम्पले किनेका हुन् । ट्रम्पले यो ऐतिहासिक भवन किन्ने बेलामा एउटा सम्झौता गरेका थिए । सम्झौतामा एउटा विशेष शर्तमा भनिएको छ – मार ए लागो रिसोर्टको व्यवसायिक प्रयोगको क्रममा कुनै पनि व्यक्ति यहाँ आएपछि लगातार ७ दिनभन्दा बढी बस्न पाउँदैन र एक जना व्यक्ति १ वर्षमा केवल तीन पटक मात्र यो रिसोर्टमा ७ दिनसम्मको लागि बस्न पाउँछ ।
सीएनएनमा प्रकाशित रिपोर्टअनुसार पाम बीचका अधिकारीहरुले मार ए लागोसँग सम्बन्धित सम्झौताको कानुनी पुनरावलोकन सुरु गरिसकेका छन् । डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले भने उनका पितासँग जति समय पनि रिसोर्टमा बस्न पाउने अधिकार रहेको दावी गरेका छन् । तर, ट्रम्पका छिमेकीहरुले भने ट्रम्पले पहिले पनि मार ए लागोसँग सम्बन्धित सम्झौताको उल्लंघन गरेको भन्दै उजुरी गरेका छन् ।
छिमेकीहरुले डिसेम्बरमा स्थानीय अधिकारीलाई पत्र लेख्दै ट्रम्प त्यहाँ आएर बस्ने कुरामा आपत्ति जनाउँदै ट्रम्प कुनै अर्कै ठाउँमा गएर बस्नुपर्ने बताएका थिए । २० जनवरीमा बाइडेनको शपथभन्दा ठिक अघि ट्रम्प मार ए लागोमा आएका थिए । बुधबार उनी रिसोर्टमा बसेको ७ दिन पुग्यो । टाउन म्यानेजर किर्क ब्लोइनले पाम बीचका अटर्नीले सम्झौताको पुनरावलोकन गरिरहेको बताएका छन् ।
९ फेब्रुअरीमा टाउन काउन्सिलको बैठकमा ट्रम्पसँग गरिएको सम्झौताबारे चर्चा हुन सक्छ । यदि टाउन काउन्सिलले सम्झौताको उल्लंघन भएको ठहर गरेमा रिसोर्टको व्यवसायिक लाइसेन्स रद्द गरिन सक्छ । मार ए लागो फ्लोरिडाको ऐतिहासिक स्थान हो । यसको निर्माण १९२७ मा भएको थियो । यसमा कूल १२६ कोठा छन् ।







डिसी नेपाल







Facebook Comment