चीनले २०२० मा मात्र २२० बिलियन मास्क निर्यात गर्यो, चीनबाहिर १ जनालाई ४० मास्क
काठमाडौं। चीनले २०२० सालमा मात्र २२० बिलियन मास्क निर्यात गरेको छ । यो परिमाण चीनबाहिर रहेका प्रत्येक व्यक्तिलाई बाँड्ने हो भने १ जनाको भागमा ४० वटा मास्क पर्छ । २०२० को सुरुवातदेखि नै कोरोनाभाइरस महामारी सुरु भएपछि मास्कसहितका सुरक्षात्मक उपकरणको माग आकाशिएको थियो । माग आकाशिएको बेला समयमै भाइरसमाथि नियन्त्रण गरेर उद्योग संचालन गरी मागअनुसारको आपूर्ति गर्न सक्षम भएको चीन २०२० मा एकमात्र प्रमुख अर्थतन्त्र हो जसको वृद्धिदर सकारात्मक छ ।
२०२० मा मास्क अत्यन्तै आवश्यक वस्तु बनेको थियो र यो समयमा चीनले अरबौं डलरबराबर मास्क निर्यात गरेको छ । शुक्रबार सहायक अर्थमन्त्री किआन केमिङले पत्रकारहरुसँग कुरा गर्दै चीनले मास्कबाहेक २.३ बिलियन प्रोटेक्टिभ गियर (पीपीइ) र १ बिलियन टेस्ट किट पनि निर्यात गरेको र महामारीविरुद्ध विश्वव्यापी लडाइँमा महत्वपूर्ण योगदान गरेको बताए । चीनले मास्क मात्रै ३४० बिलियन युआन मूल्य बराबरको निर्यात गरेको छ ।
कस्टमका प्रवक्त लि कुइवेनका अनुसार मास्कको यो परिमाण चीनबाहिर एक जनाको भागमा ४० वटा पर्छ । चीनमा कोरोनाभाइरस सबैभन्दा पहिले देखिएको थियो । यद्यपि कडा लकडाउन लागू गरेर भाइरस नियन्त्रण गर्दै पुनः सामान्य अवस्थामा फर्किने पहिलो देश पनि चीन नै थियो । चीनको अर्थतन्त्रमा २०३० मा २.३ प्रतिशतले वृद्धि भएको छ । जबकि युरोपका देशहरु, अमेरिका लगायतका धनी देशहरुको अर्थतन्त्र भने ओरालो लागेको छ । २०२० मा वृद्धि हुने एकमात्र प्रमुख अर्थतन्त्र चीन बनेको छ । प्रारम्भिक अनुमानअनुसार २०२० मा अमेरिकाको अर्थतन्त्र ३.७ प्रतिशतले घटेको छ । युरोपियन युनियनको अर्थतन्त्र ७.५ प्रतिशतले ओरालो लागेको छ । बेलायतको अर्थतन्त्र ११.२ प्रतिशतले घटेको छ ।







डिसी नेपाल







Facebook Comment