एक डोज मात्र लगाए पुग्ने कोरोना भ्याक्सिन तयार, स्वीकृतिको लागि नियामकमा आवेदन
काठमाडौं। अहिलेसम्म स्वीकृति पाएका कोरोनाभाइरसविरुद्धका सबै भ्याक्सिनहरु २ डोज लगाउनुपर्ने छन् । अब भने एक डोज मात्र लगाए पुग्ने भ्याक्सिन आउने भएको छ । जोनसन एण्ड जोनसले आफूले विकास गरेको ‘सिंगल डोज’ भ्याक्सिन तयार भएको जनाउँदै आपतकालीन स्वीकृतिको लागि अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनका पेश गरेको छ । जोनसन एण्ड जोनसनका प्रमुख वैज्ञानिक अधिकारी डा. पल स्टोफेल्सले एक वक्तव्यमा यसको जानकारी दिएको सीएनएनले जनाएको छ ।
हालै जोनसन एण्ड जोनसनले गरेको एक परीक्षणमा कोभिड १९ भ्याक्सिनको सिंगल शटबाट लामो समयसम्म प्रतिरोधी क्षमता विकसित भएको पाइएको थियो । रिपोर्टका अनुसार २९ दिनभित्र करिब ९० प्रतिशत स्वयंसेवकहरुको शरीरमा इम्युन प्रोटिन बनेको थियो । यो प्रोटिनलाई न्युट्रिलाइजिङ एन्टिबडी पनि भनिन्छ । ५७ दिनभित्र सबै स्वयंसेवकको शरीरमा एन्टिबडी विकसित भएको थियो ।
ट्रायलका क्रममा ७१ दिनसम्म प्रतिरोधी क्षमतामा यसको असर अवलोकन गरिएको थियो । यो भ्याक्सिनको सबैभन्दा सकारात्मक कुरा भनेको यो एक पटक मात्रै लगाए पुग्छ । कम्पनीको निवेदनपछि अब एफडिएले ट्रायल डाटाको अध्ययन गर्नेछ र सल्लाहकार समितिसँगको बैठकपछि यसलाई स्वीकृति दिन सक्नेछ ।







डिसी नेपाल







Facebook Comment