कोरोनाभाइरस संक्रमित महिलाहरुको हृदयाघातबाट मृत्यु हुने खतरा ९ गुणा बढी
काठमाडौं। कोरोनाभाइरसबाट हुने मृत्युको विषयमा नयाँ र खतरनाक खुलासा भएको छ । कोरोनाभाइरसबाट संक्रमित भइसकेका बिरामीहरुको हृदयाघातबाट मृत्यु हुने खतरा धेरै हुन्छ । यो खुलासा स्वेडेनका वैज्ञानिकहरुले गरेका हुन् । शोधका अनुसार कोरोना संक्रमित भइसकेपछि हृदयाघातबाट मृत्यु हुन खतरा महिलाहरुमा बढी हुन्छ । शोधकर्ताहरुका अनुसार कोरोना संक्रमित महिलाहरुलाई हृदयाघात भएको अवस्थामा उनीहरुको मृत्यु हुने जोखिम ९ गुणा बढी भएको पाइएको छ ।
युरोपियन हर्ट जर्नलमा प्रकाशित शोधपत्रका अनुसार यो शोधमा १ हजार ९ सय ४६ कोरोना बिरामीको जाँच गरिएको थियो जसलाई कोरोना निको भएपछि अस्पताल बाहिर हृदयाघात भएको थियो । यस्तै अस्पतालमा रहँदा कोरोना संक्रमित भएका १ हजार ८० बिरामीहरुको पनि अध्ययन गरिएको थियो । यो अध्ययन गत वर्षको १ जनवरीदेखि जुलाइसम्मको हो । स्वेडेनको युनिभर्सिटी अफ गोथेनबर्गका अनुसार यो अध्ययन त्यो समयमा गरिएको थियो जतिबेला कोरोनाभाइरस पीक अवस्थामा थियो ।
अध्ययनका अनुसार जुन बिरामी कोरोना निको भएर अस्पतालबाट घर गएका थिए उनीहरुको हृदयाघातबाट मृत्यु हुने संख्यामा ३.४ गुणा वृद्धि भयो । अर्कोतर्फ अस्पतालमा भर्ना भएका संक्रमितहरुको हृदयाघातबाट मृत्यु हुने संख्यामा २.३ गुणा वृद्धि भयो । विश्वविद्यालयका पीएचडी स्कलर र यो अध्ययन टिमका सदस्य पेद्रम सुल्तानियनका अनुसार अध्ययनले कोरोना संक्रमण र हृदयाघात घातक भएको प्रस्ट देखाउँछ ।
जब शोधकर्ताहरुले महामारीअघिका मुटु सम्बन्धी बिरामीहरुको तुलना महामारीपछिका मुटुका बिरामीहरुसँग गरे, निकै आश्चर्यजनक नतिजा आए । कोरोना संक्रमित भएपछि हृदयाघातबाट मृत्यु हुनेको संख्यामा ३ गुणा वृद्धि भएको थियो । कोरोना संक्रमित पुरुषहरुको हृदयाघातबाट मृत्यु हुने संख्या ४.५ गुणा वृद्धि भएको थियो जबकि महिलाहरुको संख्या ९ गुणाले बढेको थियो ।







डिसी नेपाल







Facebook Comment