प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ : प्रचण्ड

डिसी नेपाल
१ फागुन २०७७ १२:२६
388
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड-नेपाल) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन्। जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताए।

उनले भने, “म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा जनयुद्ध र जनआन्दोलनका सबै योद्धाहरुलाई शहीद घोषणा गर्ने निर्णय भएको थियो, त्यो पूरा हुन सकेन, तर आजसम्म प्राप्त उपलब्धि शहीदहरुको बलिदान नै हो। ” अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाँसँगै सेना समायोजन संविधान निर्माणलगायतका उपलब्धिलाई सामान्यरूपमा नलिनसमेत आग्रह गरे। उनले थारू समुदायले जनयुद्ध, जनआन्दोलन र मुलुक निर्माणमा पु¥याएको योगदानको चर्चा गर्दै जनयुद्ध दिवसको सन्दर्भमा पार्टीले शहीद र शहीद परिवारलाई सम्मान गर्नेसमेत जानकारी दिए।

बारबर्दिया नगरपालिका बर्दियाका प्रमुख दुर्गाबहादुर थारूले अहिलेसम्म सबैभन्दा बढी नागरिक बेपत्ता पारिएको बर्दिया जिल्ला र जनयुद्धका शहीदहरुलाई राज्यले सम्मान बेवास्ता गरेको बताए। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) द्वारा विसं २०५२ फागुन १ देखि विसं २०६२ सम्म सञ्चालित जनयुद्धकालमा सबैभन्दा बढी बेपत्ता पारिएको जिल्ला बर्दिया हो।

तत्कालीन समयमा दुई हजार ५०० बढी व्यक्ति बेपत्ता पारिएको पहिचान गरिएको छ। बर्दिया जिल्लामा मात्रै २५० नागरिक बेपत्ता बनाइएको छ। बारबर्दिया नगरपालिकाले प्रकाशन गरेको आज सार्वजनिक गरिएको जीवनगाथामा ५८० शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते व्यक्तिको जीवनी समेटिएको छ। यसमा ३२८ शहीद तथा मारिएका व्यक्ति, २५० बेपत्ता पारिएका व्यक्ति र १०२ घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुको जीवनी समेटिएको छ। अधिकारकर्मी तथा लेखक सुशील चौधरी, प्रभुराम थारू र मानबहादुर चौधरीले सम्पादन गर्नुभएको सो पुस्तकमा समावेश व्यक्तिहरुको बाल्यकाल, युवाकाल, राजनीतिक अवस्था, घटना विवरण र आर्थिक तथा सामाजिक परिवेशलाई समावेश गरिएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.