चुनावभन्दा पहिला काँग्रेसले संविधान हेर्छ : पौडेल

डिसी नेपाल
३ फागुन २०७७ २०:१५
92
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले संविधानको धज्जी उडाएर गरिने चुनावलाई प्राथामिकता नदिने बताएका छन्। उनले संविधानको रक्षा नै काँग्रेसको मुख्य चासो रहेको बताएका छन्।

उनले भनेका छन्, ‘राष्ट्रपति – प्रधानमन्त्री कोहि पनि सर्वेसर्वा हुँदैन। नेपाली काँग्रेस यहि व्यवस्थाका लागि लडेको हो। त्यसो भएकाले काँग्रेसले सवैभन्दा पहिला लोकतन्त्र हेर्छ, सवैभन्दा पहिला संविधान हेर्छ। संविधान जोगाएर लोकतन्त्र जोगाएर मात्र काँग्रेस चुनाव हेर्छ।’

प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीको देशव्यापी विरोधसभाका क्रममा धादिङ पुगेका वरिष्ठ नेता पौडेलले धादिङमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै भने, ‘पहिले पहिले संविधानमा संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई थियो। हरेक पटक संसद विघटन हुँदा मुलुकले क्षति बेहोरेको छ। पार्टीहरुले क्षति बेहोरेका छन्। प्रतिनिधिसभा विघटनलाई मैले कहिल्यै पनि राम्रो भनेको छैन।’

वरिष्ठ नेता पौडेलले धादिङमा यस्तो भनिरहँदा बुटवलमा भने काँग्रेस सभापति शेरबहादुर देउवाले विरोधसभालाई सम्बोधन गर्दै निर्वाचन आयोगले छिटो नेकपाको विवाद समाधान गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने बताएका थिए।

काँग्रेसले एउटै स्वरमा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सडक आन्दोलन गरे पनि सभापति देउवा चुनाव केन्द्रित छन् भने वरिष्ठ नेता पौडेल संसद् पुनःस्थापना हुनुपर्ने विचार राख्छन्। सभापति देउवाले सोमबार बुटवलमा चुनावका विषयमा पार्टीमा एकमत नरहेको स्वीकारसमेत गरेका थिए।

धादिङको विरोधसभामा वरिष्ठ नेता पौडेल कम्युनिष्टमाथि आक्रामकरुपमा प्रस्तुत भए। उनले भने, ‘कम्युनिष्टहरुको आतंक, कम्युनिष्टहरुको दबदबाबाट धादिङका जनताले मुक्तिको अनुभव गरेका छन् भन्ने मलाई लागेको छ। नेपाली जनताले ७० वर्ष संघर्ष गरेर संविधानसभाबाट समावेशीता, संघीयता सहितको संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको हो। यो संविधान हामीले बनायौं। तर कार्यान्वयन गर्ने बेलामा कम्युनिष्टहरुले नेपालीलाई ढाँटेर अत्याधिक बहुमत ल्याएर सरकार बनाउने मौका पाए। नेपाली जनतालाई लाग्यो, कम्युनिष्टहरुले कति न्यायपूर्ण, कति समानतापूर्ण र कति समृद्ध नेपाल बन्दो रहेछ भनेर मतदान गरे। आज कम्युनिष्ट सरकारको तीन वर्षे कार्यकाल हेरौं त के के भएको छ ?’

काँग्रेसले कम्यनिष्टलाई पाँच वर्ष शासन गर्न भन्दा पनि सरकार गलत बाटोमा लागेको नेता पौडेलको भनाइ छ। उनले भने, ‘प्रतिपक्षका हैसियतले हामीले कम्युनिष्टहरुलाई भन्यौं, तपाईहरुलाई नेपाली जनताले विश्वास गरेका छन्। सुखी नेपाली र समृद्ध नेपाल बनाउनका लागि म्यान्डेट दिएका छन्। तपाईहरु पाँच वर्ष शासन गर्नुहोस। पाँच वर्ष काम गर्नुहोस। हामी पाँच वर्षपछि हिसाब किताब खोज्छौं। गलत बाटोमा लाग्नुभयो भने, बेला बेलामा सम्झाउने काम मात्र गर्छौं भनेर भनेका थियौं।’

नेता पौडेलले कम्युनिष्टहरुले समस्यामात्र ल्उयाउने समाधान गर्न नसक्नेसमेत बताए। ‘दुनियाँमा कम्युनिष्टहरुले समस्या जन्माउन सक्छन, वितण्डा मच्चाउ सक्छन्, हुलुदंगा गर्न सक्छन्, हो हल्ला गर्न सक्छन्। तर समस्याको समाधान गर्न सक्दैनन्।’

विश्वमा कम्युनिष्टहरुले कहिँ पनि मानवका समस्यालाई समाधान नगरेको भन्दै उनले त्यही भएर विश्वबाट कम्युनिष्ट व्यवस्था लोप हुँदै गएको दावी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.