कांग्रेस महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने प्रस्ताव
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखि १० सम्मका लागि प्रस्ताव गरिएको छ ।
आज बसिरहेको काँग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले भदौ ७ देखि १० मा महाधिवेशन गर्ने औपचारिक प्रस्ताव पेश गरेका छन् । आगामी जेठ मसान्तसम्म क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाइने भएको छ । यस्तै असार २० गतेबाट तल्लो तहको अधिवेशन सुरु गर्ने प्रस्ताव छ ।
कांग्रेसले १४ औं महाधिवेशनको मिति फागुन ७ देखि १० सम्म काठमाडौंमा आयोजना गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । तर, महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण महाधिवेशन कार्यतालिका अनुसार काम हुन नसकेपछि महाधिवेशनको मिति सार्न कांग्रेसले बैठक बोलाएको हो। सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद फागुन १९ गते समाप्त हुँदैछ।
सहमतिपछि केन्द्रीय कार्यसमिति लगायत सबै कार्य समितिको म्याद छ महिना थप भएको छ । केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
बैठकमा प्रतिनिधिसभा विघटनको विरोधमा पार्टीले सम्पन्न गरेको तीन चरणको आन्दोलनका बारेमा पनि समीक्षा हुने बताइएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटनलाई राजनीतिक रूपमा प्रतिवाद गर्ने भनि निर्णय गरेअनुसार विभिन्न कार्यक्रम गरेको र ती कार्यक्रमको समीक्षासमेत बैठकमा हुनेछ।







डिसी नेपाल







Facebook Comment