मृत्युदण्ड पाएकी आमाले १२ वर्षका छोरालाई के भनिन् ? अपराध गर्दा यी छोरा गर्भमा थिए

डिसी नेपाल
१३ फागुन २०७७ १३:५८

काठमाडौं। भारतमा मृत्युदण्डको सजाय पाएकी ३८ वर्षीया महिलाले मृत्युदण्डबाट बच्न अन्तिम प्रयासस्वरुप अर्को दया याचिका दायर गर्दै मुद्दाको पुनरावलोकनको लागि अपील गरेकी छिन्। शबनम अली नामकी यी महिलालाई विगत ११ वर्षदेखि उत्तर भारतको मथुरा जेलमा राखिएको छ। उनका प्रेमी सलिमका साथ उनलाई उनका आमाबाबु, दुई दाजुभाइ, भाउजु र एक १० महिने भतिजा सहित सात परिवारका सदस्यहरूको हत्याको अभियोग लगाइएको थियो।

तर, सन् २००८ पछि पहिलो पटक शबनमले अहिले आफू हत्यामा संलग्न नभएको दाबी गरेकी छिन् । शबनमका कलेजका साथी तथा उनका १२ वर्षीय छोरा ताज मोहम्मदका धर्मपिता उस्मान सैफीले अरब न्युजलाई भने, ‘हामीले आइतबार शबनमलाई भेट्दा उनले मलाई आफू हत्यारा नभएको बताउँदै मुद्दाको उचित जाँच हुनुपर्ने बताएकी छिन् । शबनमले यस विषयमा कुरा गरेको यो पहिलो पटक हो। सन् २००८ मा मैले उनलाई यसबारे सोध्दा उनी चुपचाप बसिन् ।’

शबनमलाई सन् २०१० मा उत्तर भारतीय राज्य उत्तर प्रदेशको अमरोहास्थित जिल्ला अदालतले दोषी ठहर गरेको थियो । सन् २०१५ र २०२० मा सर्वोच्च अदालतले उनको मृत्युदण्डको समर्थन गरेको थियो । नाबालक छोराको आमा भएको आधारमा उनले दयाको निवेदन दिएकी थिइन् र त्यो निवेदनलाई तत्कालीन भारतीय राष्ट्रपति स्वर्गीय प्रणव मुखर्जीले सन् २०१६ मा अस्वीकार गरेका थिए। शबनम भूगोल र अंग्रेजीमा स्नातकोत्तर थिइन्। उनी हत्याको समयमा अमरोहाको बावनखेडी गाउँमा स्कूलकी शिक्षिका थिइन्।

केस फाइलका अनुसार शबनमको परिवारले स्थानीय सिकर्मी सलिमसँगको उनको सम्बन्धको विरोध गरेका थिए । जसका कारण सन् २००८ मा पूरे परिवारको हत्या भएको थियो । शबनम त्यतिबेला गर्भवती थिइन् । उनका छोरा ताज सन् २०१० मा जेलमै जन्मिएका थिए । ताज सन् २०१६ सम्म आफ्नी आमासँग जेलमै रहे । जेलको नियमअनुसार बच्चा ६ वर्षको उमेरभन्दा बढी आमासित बस्न पाइँदैन। त्यसपछि उस्मान सैफी र उनकी श्रीमती वन्दना सिंहले सन् २०१६ मा ताजको जिम्मा लिएका थिए ।

ताज १८ वर्षसम्म सैफी दम्पतीसँगै बस्नेछन् । त्यसपछि उनले धर्मपिता–मातासित बस्न चाहन्छन् कि चाहँदैनन् भनी निर्णय गर्न सक्नेछन्। आफ्नी आमालाई मृत्युदण्डबाट बचाउने अन्तिम प्रयासस्वरुप ताजले बिहीबार दयाको लागि आफ्नी आमाको आग्रहलाई पुनर्विचार गर्न भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष अपिल गरेका छन् ।

‘आइतबार अम्मी (आमा) लाई भेट्दा उहाँले मलाई राम्रोसँग पढ्न र असल मानिस बन्न भन्नुभयो । उहाँले मलाई चिन्ता नगर्न भन्नुभयो’ ताजले अरब न्युजसँग भने ‘मलाई आशा छ कि भारतका सम्मानित राष्ट्रपतिले मजस्तो बालकलाई निराश पार्नुहुने छैन र मेरी आमालाई माफी दिनुहुनेछ ।’ तर, अमरोहाको एउटा ट्रायल अदालतमा शबनमका वकिल रहेका अरशद अन्सारीले भने यो मुद्दा फेरि खुल्ने सम्भावना अत्यन्तै कम भएको बताए । ‘आरोपपत्र दाखिला गर्नुअघि र मुद्दाको प्रारम्भिक चरणमा मुद्दाको छानविन गर्न सकिन्छ’ उनले अरब न्यूजलाई भने, ‘अब उनी मृत्युदण्डको सजायमा छिन्। यो मुद्दा पुनः खोल्न सकिने सम्भावना एकदमै कम छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *