युएईबाट अनु भन्छिन्-अब म गुहार माग्न कहाँ जाउँ?

डिसी नेपाल
२० फागुन २०७७ १०:२०

युएई। नेपालबाट भिजिट भिसामा युएई आउने र समस्यामा पर्ने नेपाली हरुको संख्या अहिले दिनहुँ बड्दो छ। भिजिट भिसामा युएई पुगेर धेरै नेपाली समस्यामा परेका छन्। तिनै समस्या पर्ने नेपालीहरु मध्य एक हुन नेपालमा मोरङ घर भएकी अनु तामाङ।

नेपाल बाट १ लाख ७० हजार दलाललाई तिरेर ४ महिना पहिला युएई पुगेकी अनु अहिले दाहिने हातको कारण समस्यामा छिन्। उनी भिजिट भिसामा युएई आउनु अघि नेपालमा दुर्घटनामा परी दाहिने हातमा स्टिल हालिएको थियो। उनलाई युएई आइसकेपछि सोही हातका कारण समस्या परेको हो।

‘अरबिको घरमा धेरै काम गर्नुपर्छ, घर मुलिका फोहोर कपडाहरु सबै हातले धुनुपर्छ, दुई वटा किचनको काम पनि म आफैंले हेर्नु पर्छ। चारजना परिवार रहेको अरबिको घरमा एउटा सिंगै खसीको मासु पाक्ने जस्तो डेक्चीमा खाना पकाउनु पर्छ, मेरो दाहिने हात सुनिन्छ, दाहिने हातको आधा भाग नै चल्दैन, काम गरेन भने घर मालिकको गाली खानुपर्छ, तेसैले जबर्जस्ती काम गरिरहेको छु ‘, उनले रुँदै डिसी नेपाललाई बताइन्।

अनुले काम गर्न गाह्रो भएपछि युएई लिएर आउने दलाललाई सम्पर्क गरेर नेपाल फर्काउन आग्रह गर्दा दलालहरु आजका दिन सम्म पनि मौन बसेका छन्। काम गर्न सक्दिन भनेर धेरै पटक आग्रह गर्दा पनि दलाल हरुले मतलब नगरेको उनको दुखेसो छ।

‘काम गर्न गाह्रो भयो, सकी नसकी काम गर्दै छु ,मलाई युएई लिएर आउने दलालसँग सहयोग माग्दा टन्न रक्सी खाएर मातेको बेला विभिन्न थरीका अपशब्द बोलेर गाली गर्छन् अब म कहाँ गुहार माग्न जाउँ?’, उनले थपिन्।

दलालहरुसँग म कामबाट भाग्छु, मैले काम गर्न सकिन ,मलाई नेपाल आउन सहयोग गर्नुस भन्दा पनि उनीहरूले मतलब नगरेको उनको दुखेसो छ।

‘बिहान ६ बजे काम सुरु गर्छु, काम गर्न सक्दिन हातले केही गर्न नै सक्दिन ,भोक लाग्दा खाना खान पनि पाउदिन, अहिले सकिनसकी काम गर्दै रुदै बस्ने गरेकी छु,’ उनले भनिन्।

अनुलाई नेपालबाट दलाल मधु श्रेष्ठले युएई पठाएका थिए। युएई आइसकेपछी अर्का दलाल राजु केसीले एअरपोर्टबाट रिसिभ गरेका थिए। अनुलाई युएई आइसकेपछी दलालहरुकै सेटिङमा युएईको अजमानमा रहेको  अल वाद लेबर्स रिक्रुटमेन्टमार्फत अरबिको घरमा घरायसी काममा लगाइएको थियो ।

पीडित अनु तामाङको समस्या  आइसकेपछि डिसी नेपालले पीडित अनु तामाङ र युएई मै रहेका दलाल राजु केसीसँग  पीडित अनुलाई सहयोग गर्न आग्रह गरेकाे थियाे।  तर  केसीले यो विषयमा स्पष्ट जवाफ दिन सकेनन्। नेपालमा रहेका अर्का दलाल मधु श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

पीडित तामाङले दलालहरुलाई सहयोगका लागि पठाइएका अडियोहरु डिसी नेपालसँग सुरक्षित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *