ओली समूहका मुख्य सचेतक विशाल भट्टराईले भने – प्रचण्डको पत्रको कुनै कानुनी आधार छैन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयमा बिहीबार पठाएको पत्रको औचित्य नरहेको प्रष्ट पारेका छन् ।
भट्टराईले एक विज्ञप्ति जारी गरि दलको विधान बमोजिम विधितव रूपमा निर्वाचित संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलील रहेकाले अरु पत्र र दावी गैरकानुनी रहेको दावी गरेका छन्।
‘दलको विधानमा २०७५ बमोजिम बिधिवत रुपमा चुनिनुभएका संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलील रहनुभएकाे छ। नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैर संवैधानिक र गैर कानुनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानुनी आधार,औचित्य र प्रभाव हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ ।
भट्टराईले निर्वाचन आयोगको गत माघ ११ गतेको निर्णयअनुसार पार्टीको बैठकको मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेकाे हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनपर्ने उल्लेख भएकाले त्यसविपरीतका कुनै पनि बैठक र पत्राचारले मान्यता नपाउने बताएका छन्।
भट्टराईले दलको विधान बमोजिम नेता प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, मुख्य सचेतक भट्टराई र सचेतक शान्ता चौधरीबाहेक अरु पदाधिकारी नरहेको भन्दै संसद सचिवालयलाई कुनै द्विविधामा नपर्न ध्यानाकर्षण समेत गराएका छन्।
प्रचण्डको पत्र बिहीबार देव गुरुङ सहितका प्रचण्ड- पक्षीय सांसदहरूले सचिवालयमा दर्ता गरी ओली,उपेनता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई कारबाही गरिएको जनाएका थिए।

No ads found for this position

डिसी नेपाल
Facebook Comment