नेकपा विवादले संसद सचिवालय तनावमा

डिसी नेपाल
२२ फागुन २०७७ १९:३४
432
Shares

काठमाडौं। दुई समूहमा विभाजित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले संसद सचिवालय समेत अप्ठ्यारोमा परेको छ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै फागुन २३ गते आइतबारका लागि बोलाइएको संसद बैठकमा नेकपाका दुवै समूहलाई सत्तारुढ दलकै सिटमा राख्ने सचिवालयले तयारी गरेको छ।

स्रोतका अनुसार नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधव नेपालले भने आफूहरुलाई सत्तापक्षको सिटमा नराखी विपक्षी दलको सिटमा राखिदिन आग्रह गरेका छन्। तर संसद सचिवलायले उनको आग्रह अस्वीकार गरेको संसद सचिवलाय स्रोतले जानकारी दियो। कानुनतः नेकपा एउटै रहेको भन्दै आधिकारिक रुपमा फुटिनसकेका कारण सचिवालयले उनलाई सत्तापक्षकै सिटमा बस्नुर्ने जवाफ दिएको स्रोतले बतायो।

संसद बैठक बस्नुअघि सभामुखले बोलाउने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि कसरी प्रतिनिधित्व गर्ने भन्नेमा अन्योल देखिएको छ। नेकपा (ओली) समूहका संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देवप्रसाद गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेपछि थप संकट परेको हो।

विशाल भट्टराईलाई प्रमुख सचेतक नियुक्ति गरेर संसदका महासचिवलाई बोधार्थ दिएको पत्र प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले लुकाएको ओली पक्षले आरोप लगाएको छ। तर सचिव योगीले भने आफूले कुनै पत्र नलुकाएको डिसी नेपाललाई बताए। उनले भने, ‘विशाल भट्टराईलाई प्रमुख सचेत नियुक्त गरिएको पत्र महासचिवले सचिवलायका चारैजना सचिवलाई बोर्धाथ दिनु भएको हो। यसमा के लुकाउने कुरा छ र ?’

सभामुखले नेकपाका नवनियुक्त प्रमुख सचेतक विशाल भट्टराईलाई भेट नभएकोसमेत ओली समूहले आरोप लगाएको छ। सचिवालयले भने विशाल भट्टराईलाई प्रमुख सचेतकको सुविधा उपलब्ध गराइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *