उत्कृष्ट रुपमा कार्य गर्ने महिलालाई सम्मान

डिसी नेपाल
२४ फागुन २०७७ २२:२७

मोरङ । प्रदेश–१ सामाजिक विकास मन्त्रालयले १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा १३ जना महिला चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरीलाई सोमबार सम्मान गरिएको छ । कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड अस्पताल, प्रयोगशालामा कार्य गर्नेलाई सम्मान गरिएको हो । यसरी सम्मानीत हुनेमा ११ जना स्वास्थ्यकर्मी र दुई जना महिला प्रहरी रहेका छन् ।

प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनीहरुलाई सम्मान गर्दै महिलाहरु नाकमा फुली मात्र होइन काँधमा फुली लगाउने गरेकाले उनीहरु प्रत्येक क्षेत्रमा निर्भिक भएर आगाडि बढेको बताए । उनले महिलाको त्याग र बलिदान दिने कार्यमा सधैँ अगाडि हुनाले मुलुकमा स्वतन्त्रता र निरङ्कुशताको अन्त्य भएको चर्चा गर्दै इमान्दारी, अनुशासन, संस्कार र संस्कृति कायम राख्ने कार्यमा महत्वपूर्ण योगदान रहेको चर्चा गरे । प्रदेश प्रमुख अधिकारीले वर्तमान राष्ट्रपति महिला सङ्घको नेतृत्व कालमा महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व गराएको चर्चा गर्दै संविधानमा भए बमोजिमको अधिकार महिलाले पाउनुपर्छ भने । उनले संविधानमा उल्लेख भए अनुसार अहिले स्थानीय निकाय लगायत अन्य क्षेत्रमा ४२ प्रतिशत महिला नेतृत्वदायी भूमिका रहेको उल्लेख गरे ।

सो अवसरमा सामाजिक विकास मन्त्रीसमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जहाँजहाँ महिला नेतृत्वमा रहेका छन् त्यस क्षेत्रको व्यवस्थापन उत्कृष्ट रहेको चर्चा गर्दै महिला नेतृत्व सफलताको घोतक हो भने । यसअघि जिल्ला प्रशासन कार्यालय मोरङबाट निस्किएको प्रभातफेरीले नगरको मुख्य मुख्य भागको परिक्रमा गरेको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *