गंगामाया ८० दिनदेखि अनसनमा

डिसी नेपाल
२६ फागुन २०७७ १८:४०
108
Shares

काठमाडौं। १६ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनसनरत गंगामाया अधिकारीको जीवन रक्षाको लागि मानव अधिकारवादीले अपिल गरेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरेर वीर अस्पतालमा अनसनरत गंगामायाको जीवन रक्षाको अपिल गरेका हुन्। २०७७ पुस ६ गतेदेखि गंगामाया अनसनमा बसेकी हुन्।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य प्रा. डा. कपिल श्रेष्ठले गंगामाया संघर्ष र न्यायको पर्याय भएको बताए। उनले देशमा न्यायका लागि शान्तिपूर्ण संघर्ष गर्दा बेवास्ता हुनेगरेको टिप्पणी गरे। देश राज्य नै नभएको जस्तो भइसकेको बताए। उनले भने, ‘नेपालको राजनीति र सत्ता पक्षमा घटिरहेको घटनालाई हेर्दा यो राज्य नभएको जस्तो छ।’ राज्यले बन्दुके र सन्दुकेको भाषामात्र बुझ्ने गरेको टिप्पणी गर्दै भने, ‘यो देशमा बन्दुक बोकेर आतंक मच्चाउनेका लागि मात्र हो?’

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदार नरसिंह के.सीले राज्य अत्यन्तै गैह्रजिम्मेवारी भएको आरोप लगाए। ‘एउटी नारीले अन्यायको लागि न्याय देउ भन्दा पनि राज्यले सुन्दैन, मुकदर्शक भएर बस्छ भने यो राज्य अत्यन्तै गैह्रजिम्मेवारी छ,’ उनले भने, ‘यो लोकतन्त्र, विधिको शासन, कानुनी राज्यको विरुद्वमा भएको सरकार छ।’ केसीले सबै देशवासीहरुलाई गंगामायाको न्यायको यो मुद्दामा सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता तथा मानवअधिकारवादी दिनेश त्रिपाठीले गंगामायाको जीवन संकटमा भएको बताए। गंगामाया दण्डहिनताको आन्दोलनको प्रतिक हुन् भन्दै उनले न्यायको जीत हुने बताए। उनले भने, ‘दक्षिण एशियाकै केसमा मात्रै नभएर विश्व इतिहासमा नै गंगामाया जस्तो साहसी, निडर महिला जो न्यायको पक्षमा अविराम युद्ध गर्ने महिला, जो न्याय प्रश्नमा कुनै सम्झौता नगर्ने विश्व जगतमा नै विरलै भेटिन्छिन्।’

न्यायका लागि मानवअधिकार राष्ट्रिय संजालको संयोजक तथा अधिवक्ता ईन्द्र प्रसाद अर्यालले गंगामाया पछिल्लो समयमा ८० दिनदेखि अनसन बसेको बताए। अर्यालले भने, ‘हत्यामा संलग्नलाई कारवाही हुनुपर्छभन्दा अधिकारी परिवार गोरखाको फुजेलबाट विस्थापित हुनु प¥यो।’

काठमाडौ आउँदा पनि उनीहरुमाथि धेरै षड्यन्त्र गरिएको, हत्कण्ड मच्चाइएको, जिउज्यानसम्म लिने अवस्था आएपछि अधिकारी दम्पत्ति अनसनमा बसेको उनले उल्लेख गरे।
गंगामायाको स्वास्थ्य अवस्था निकै गम्भीर भएको जानकारी दिँदै गंगामायालाई ७ दिनदेखि घाँटीबाट चिरेर सेन्टल भेनबाट स्लाइन दिएको बताए। सरोकारवाला निकाय, राज्य, न्यायको लागि हेर्ने बोल्ने निकाय कुनै निकाय पनि उनको प्रत्यक्षरुपमा जीवन रक्षाको लागि नलागेको प्रति अर्यालले आलोचना गरे।

मानव अधिकारवादी तथा अधिवक्ता ओम प्रकाश अर्यालले गंगामायाको सत्याग्रह नेपालको राज्यसँग मात्र नभएर अन्तर्राष्ट्रिय समूदायसँग पनि भएको बताए।

अन्तर्राष्ट्रिय समूदायले न्याय प्राप्तिका लागि गंगामायाको अभियानमा पर्याप्त सहयोग गर्न नसकेको टिप्पणी गरे। उनले गंगामायाको छोरा कृष्णको हत्याका मुख्य दोषी रुद्र प्रसाद आचार्य बेलायतमा लुकेर बसेको भन्दै उनलाई नल्याएसम्म न्यायले पूर्णता नपाउने जिकिर गरे। उनले बेलायतले पनि दोषीलाई बचाएको आरोप लगाउदै भने, ‘बेलायतले पनि स्वयं अभियोजन गर्न सक्छ तर बेलायती दुतावासले गंगामायालाई एकपटक पनि भेट दिएको छैन।’

एमनेष्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष तथा पत्रकार राजन कुँइकेल, द्वन्द्व पीडित तथा मानव अधिकारकर्मी सावित्री श्रेष्ठ, न्यायको लागि मानव अधिकार राष्ट्रिय संजालका सचिव अधिवक्ता बद्री प्रसाद भुषाल, मानवअधिकार कर्मी तथा वरिष्ठ अधिवक्ता बावुराम गिरी, मानवअधिकार कर्मी चरण प्रसाई लगायतको उपस्थिति थियो।

२०६४ साल जेठ २४ गते चितवनको वकुलरमा हत्या भएका छोरा कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्नहरुलाई कानुन बमोजिक कारवाहीको माग गर्दै अधिकारी दम्पत्ति अनसन बसेका थिए। न्यायको लागि अनसनरत नन्द प्रसाद अधिकारीको अनसन बसेको ३३४ औं दिनमा २०७१ साल असोज ६ गते वीर अस्पतालमा मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.