हावाहुरीसहितको असिना पानीका कारण क्षति

रासस
२६ फागुन २०७७ १९:५५
200
Shares

गण्डकी । हावाहुरीसहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ ।

दिउँसो ३ः०० बजेतिर असिनासहित, हावाहुरी र पानी आएपछि कृषकले लगाएको गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षात्को समयलाई लक्षित गरी लगाइएका घिरौँला, करेला, काँक्रो, फर्सी लौका, चिचिन्डोलगायतका लहरेबालीका बिरुवा समेतमा क्षति पुगेको स्थानीयवासी उमादेवी भट्टराईले जानकारी दिइन् । असिनाका कारण फुल्दै गरेका सुन्तला, निबुवा, कागतीलगायतका बोट बिरुवालाई पनि क्षति पु¥याएको उनले बताइन् ।

असिनासँगै केही बेर मेघगर्जनका साथ पानी परेपछि दुलेगौडा हुँदै साँखे जाने मोटरबाटोअन्तर्गत ढोरफिर्दीस्थित बराहखोलामा पानी बढेपछि झण्डै एक घण्टा सवारीसाधन आवतजावत पनि ठप्प भएको अर्की स्थानीय सुष्मा पोखेरेलले जानकारी दिइन् ।

उनका अनुसार खोलामा पानी बढेपछि विद्यार्थी लिएर फर्केका स्कूल बससमेत झण्डै एक घण्टासम्म रोकिनुपरेको थियो । ठूलो पानी पर्नुका साथै वर्षात्को समयमा बराह खोला बढ्दा सवारीसाधन नै रोकिनुपर्ने समस्याबाट सर्वसाधारण समय–समयमा ग्रसित बन्ने गरेको उल्लेख गर्दै उनले यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने आवश्यकता औँल्याइन् । दुलेगौँडाबाट ढोरफिर्दी हुँदै मान्द्रे, छब्दीदेउराली, साँखे, राइपुर, मग्यम चिसापानी, सालडाँडालगायतका स्थान जाने बाटो यही भएका कारण बराहखोलामा तत्काल मोटरेबल पुल हाल्नुपर्ने देखिएको स्थानीयवासीले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *