अन्नपूर्ण पोस्टमा हल्लाखल्ला, ‘बाध्य पारिएको’ भन्दै २८ पत्रकारले सामूहिक राजीनामा दिए

डिसी नेपाल
५ चैत २०७७ १२:५०
920
Shares

काठमाडौं। अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको पत्रकार टिममा खैलाबैला भएको छ । अन्नपूर्ण पोस्ट पत्रिकामा कार्यरत २८ जना पत्रकारले सम्पादक अखण्ड भण्डारीलाई ‘चेतावनीसहितको’ राजीनामा बुझाएका छन् । उनीहरुले सम्पादकले नै आफूहरुलाई राजीनामा दिन बाध्य पारेको आरोप लगाउँदै ‘दबाबपूर्ण अवकाशस्वरुप’ सामूहिक राजीनामा दिइएको बताएका छन् ।

पत्रकारहरुले सम्पादक भण्डारीले फागुन २० गतेका दिन सबै पत्रकारलाई बोलाइ पत्रिका डिजिटाइजमा जाने भएकोले सबैले राजीनामा दिन माथिको निर्देशन आएको सूचना दिएको बताएका छन् । त्यसपछि फागुन २५ गते सम्पादक भण्डारी, अन्नपूर्ण पोस्ट अनलाइनका सम्पादक विष्णु सुवेदी र कम्पनीका सीइओ मानस घिमिरेले केही समयपछि पत्रिका बन्द गरिने भएकोले सबैलाई राजीनामा दिन बाध्य पारेको पत्रकारहरुले आरोप लगाएका छन् ।

पत्रकारहरुले राजीनामा पत्रमा कोरोनाकालदेखि काटिएको तलबको भुक्तानी, दशैं तिहारमा पाउनुपर्ने चाडपर्व भत्ता, श्रमिक कटौती गर्दा दिइनुपर्ने क्षतिपूर्ति, उपदान, संचयकोष, उपचार खर्च, सञ्चित बिरामी विदा, घरविदा लगायत आफूहरुले पाउनुपर्ने रकमको भुक्तानी पनि मागेका छन् । उनीहरुले आगामी बैशाख ३ गतेदेखि लागू हुने गरी राजीनामा दिएको भन्दै त्यसपछि पनि निश्चित समयमा कम्पनीले आफूहरुले पाउनुपर्ने सेवा सुविधा नपाएमा त्यसपछिको समयको पारिश्रमिक पनि कम्पनीले नै भुक्तानी दिनुपर्ने बताएका छन् ।

पत्रकारहरु विनोद न्यौपाने, यम विरही, राधाकृष्ण अधिकारी, कृष्णप्रसाद रिमाल, तिलक सापकोटा, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, गाविन्द रेग्मी, खगेन्द्र भण्डारी, उमा बिष्ट, सुनिता कार्की, सूर्यप्रसाद पाण्डे, अनन्त वाग्ले, दिनेश गौतम, अजवी पौडेल, लिलाराज अधिकारी, टिका बन्धन, कृष्णराज चौधरी, रामकृष्ण रानामगर, देवेन्द्र महत, सागर खड्का, सञ्जीव दाहार, कपिल रोकाया, माधव छिनाल, उपेन्द्र अर्याल, विष्णु थापा, विनय बञ्जारा र दीपकराज घिमिरेले सामूहिक राजीनामा दिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.