के यौनको लतका कारण नै मसाज सेन्टरका ८ युवतीको हत्या भएको हो ?
काठमाडौं। अमेरिकाको एटलान्टामा मसाज सेन्टरमा गोली हानेर ८ महिलाको हत्या गरेको आरोपमा २१ वर्षका एक युवकलाई पक्राउ गरिएको छ । यो गोलीकाण्डमा ८ महिलाको ज्यान गएको थियो । सोधपुछका क्रममा संदिग्ध आरोपीले यो गोलीबारीको पछाडि कुनै जातीय कारण नभएको बताएका छन् । रोबर्ट एरोन लोंग नामका ती आरोपीले आफूलाई यौनको लत भएको र यही कारण उनले ती महिलाहरुको हत्या गरेको बयान दिएका छन् ।
लोंगका अनुसार उनको मनमा पटक पटक मसाज सेन्टरमा जाने सोचाइ आउँथ्यो । यी मसाज सेन्टरले उनलाई यौनको लागि लोभ्याइरहेका थिए । यी सेन्टरका कारण उनको यौनको लत झनै बढ्थ्यो त्यसैले उनी यी मसाज सेन्टरहरुलाई समाप्त पार्न चाहन्थे । यद्यपि यो घटनामा ६ जना एसियाली महिला पनि मारिएकोले यसलाई जातीय आक्रमण मानिएको छ ।
अमेरिकामा कुनै व्यक्तिले आफ्नो यौनजन्य व्यवहारका कारण गम्भीर अपराध गरेको यो पहिलो पटक भने होइन । यसअघि यौन उत्पीडनको आरोपमा दोषी पाइएका हलिउड निर्देशक हार्वे वेनस्टोन, सिरियल किलर टेड बन्डी र तीन युवतीलाई अपहरण गरेर उनीहरुलाई बन्दी बनाएर राख्ने एरियल कास्त्रोले पनि आफ्नो अपराधको लागि यौन र पोर्नोग्राफीको लत जिम्मेवार भएको बताइसकेका छन् ।
यौनिकता र यौनको लतबारे अध्ययन गरिरहेका शोधकर्ताहरुको भने यो विषयमा फरक धारणा छ । शोधकर्ताहरुका अनुसार यी दुवै कुराको मानसिक रोगसँग कुनै सम्बन्ध छैन र कुनै पनि अपराधको लागि यी कुराहरु जिम्मेवार हुन सक्दैनन् । मनोवैज्ञानिक तथा ‘द मिथ अफ सेक्स एडिक्सन’का लेखक डेभिड जे लेले वाशिङटन पोस्टसँग कुरा गर्दै भने ‘केही व्यक्तिहरु अत्याधिक उत्तेजित हुने र आफूमा नियन्त्रण राख्न नसक्ने मानिन्छ तर शोधका अनुसार यौनको लत भएका मानिसहरु भने यस्तो स्थितिमा पनि आफूमाथि नियन्त्रण राख्न सक्छन् ।’
केही वैज्ञानिकका अनुसार अपराधीहरुले आफ्नो अपराध लुकाउन यी कुराहरुको प्रयोग गर्छन् । न्यूरोसाइन्टिस्ट डाक्टर प्रजले क्यालिफोर्निया विश्वविद्यालयको एक अध्ययनको हवाला दिँदै भने ‘चुरोट, मदिरा पिउने वा जुवा खेल्ने जस्ता लत र यौनका विषयमा मस्तिस्कले फरक फरक किसिमले प्रतिक्रिया दिन्छ । केही मानिसहरुलाई विस्तारै यौनको यस्तो लत लाग्छ कि उनीहरु कुनै पनि किसिमका नकारात्मक कुराबाट टाढा रहन यौनकै सहारा लिन्छन् ।’
यो घटनापछि अब खराब लत छुटाउने सुधार केन्द्रहरुमाथि पनि प्रश्न उठ्न थालेका छन् किनकि लोंग पनि विगत ६ महिनादेखि जर्जियाको एक सुधार केन्द्रमा बसिरहेका थिए । लोंग यहाँ आफ्नो यौनको लतको उपचार गराइरहेका थिए भने अन्य केही व्यक्तिहरु ड्रग्स र मदिराको लत छुटाउन यहाँ थिए । मनोवैज्ञानिकका अनुसार यस्ता ठाउँमा मानिसहरुको आसपास रुढीवादी वा धार्मिक वातावरण बनाइन्छ ताकि मानिसहरु आफ्नो मनमा आउने खराब विचारलाई दबाउन सकुन् ।
लोंगले मसाज सेन्टरमा आक्रमण गरेपछि केही मानिसहरु यिनै विचारको तर्क दिइरहेका छन् । वैज्ञानिकहरुले सुधार केन्द्रमा यौनको लत र यौनिक विकृत व्यवहारको उपचारका लागि प्रयोग गरिने तरिकामाथि पनि शंका गरेका छन् । चिफ क्लिनिकल अफिसर रब वेस भने लोंगको मामिलामा यो तर्कसँग सहमत छैनन् । वेसले भने ‘यौनको लत र हिंसाको आपसमा कुनै सम्बन्ध छैन । मानिसहरु आफ्नो पार्टनर र परिवारको जीवन यसकारण खराब पार्छन् किनकि उनीहरु आफ्नो व्यवहारमा नियन्त्रण राख्न सक्दैनन् । तर, उनीहरु लोंगलेजस्तै कसैको ज्यान भने दिँदैनन् ।







डिसी नेपाल








Facebook Comment