डीएसपी तथा म्यानपावर व्यवसायी बनी लाखौं ठगी गर्ने समूह बेपत्ता

रिता बस्नेत
८ चैत २०७७ १४:५८
472
Shares

काठमाडौं। केही पीडितहरुको उजुरीको आधारमा अवैध रुपमा वैदेशिक रोजगारीमा पठाउने काम गर्दै आएको धुम्बराहीस्थित एक्टिभ इम्प्लोई सर्भिस प्रालिमा गत चैत ४ गते वैदेशिक रोजगार विभागले छापा मारेको थियो। उक्त प्रालिले एउटा समूह नै बनाई विभिन्न तरिकाले युवाहरुलाई प्रलोभनमा पारी ठगी गर्दै आएको रहेछ।

सो कम्पनीका जयबहादुर बिक, पदमराज जोशी, सुरज गजुरेल, गणेश बुढालगायतको समूहले विभिन्न जिल्लाका युवाहरुबाट लाखौं रुपैयाँ उठाएका छन्। उनीहरुले पीडितसँग गरेको सम्झौतापत्रका अनुसार सो कम्पनीका कार्यकारी निर्देशक जयबहादुर बिक रहेछन्। उनी नेपाल–दुबई आउजाउ गरिराख्दा रहेछन्।

पीडितका अनुसार युवालाई दुबईमा काम लगाउने जय बिक यतिबेला दुबईमा छन्। सुरज गजुरेल भने नेपालमै अफिस (एक्टिभ) समाल्ने बुझिएको छ। भरसक बिना प्रमाण हातमै पैसा लिन खोज्ने उनीहरुले आफूसँग सम्पर्कमा भएका युवालाई आफ्नै समूहका व्यक्तिको नाममा पैसा ट्रान्सफर गर्न लगाएका रहेछन्।

एक्टिभले विदेशमा र नेपालमा गरी धेरै युवालाई ठगेको बुझिएको छ। विभागले छापा मारेको समयमा विदेश गइसकेका युवाहरुलाई काम नदिएर भात न पानी भएर बसेको भन्दै आफन्तहरु त्यहाँ न्यायको लागि आएका थिए। खाडी मुलुकलगायतका देश पठाउन एक्टिमले प्रत्येक युवाबाट पाँच लाखदेखि नौ लाखसम्म उठाएको रहेछ। र, सो कम्पनीले विदेश गइसकेका युवाहरुसँग नक्कली सम्झौतापत्र बनाएको रहेछ।

विभागले छापा मारेको समयमा कम्पनीका कोही पनि संचालक फेला परेका थिएनन्। कर्मचारीहरु मात्र भएको एक्टिम कम्पनी वैदेशिक रोजगार विभागबाट लाइसेन्सप्राप्त कम्पनी नभएको देखिएको छ। सो कम्पनीको ठेगानादेखि लिएर अन्य कागजातहरु सबै नक्कली रहेको छ।

यसअघि डिसी नेपालले सोही विषयमा लेखेको समाचारलाई लिएर कालिकोटका २३ वर्षीय रमेश केसीले आफ्नो गुनासो विस्तृतमा लेखिदिन अनुरोध गरे। र, बुझ्दै जाँदा उनीले आफूले फसाएको पैसा वैदेशिक रोजगारीको लागि नभएर नेपाल प्रहरी बन्नको लागि रहेछ। उनले प्रहरी बन्नको लागी पाँच लाख रुपैयाँ फसाएका रहेछन्।

उनले एक्टिभमा संलग्न व्यक्तिहरुलाई सुरुमा तीन लाख र पछि दुई लाख गरी पाँच लाख रुपैयाँ दिएका रहेछन्। उनी भन्छन, ‘बुबाले गत वर्षको कात्तिक ५ गते तीन प्रतिशत ब्याजका दरले तीन लाख रुपैयाँ कालिकोट जिल्लाकै ज्वाइँ पर्ने गणेश बुढालाई बिना कागज हातमा दिएको हो।

अहिले जसको सावाँ–ब्याज गरी चार लाख ७२ हजार पुगेको रहेछ। बुढालाई सो पैसा घरमै बिनाकागज विश्वासको आधारमा दिएको हो।’
गणेश बुढालाई दिएको पैसाको प्रमाणको रुपमा भ्वाइस रेकर्ड भने भएको बताउने रमेशका अनुसार अहिले चाहीँ गणेशले तपाई जे गर्न सक्नु हुन्छ गर्नुस् भन्दै फोन समेत उठाउन छोडेका रहेछन्।

पीडित रमेशका अनुसार गणेश बुढा पनि पहिले पुलिसमै थिए। उनी पनि पुलिस भएकाले आफूलाई पनि विश्वास लागेर उनलाई बुबाले पैसा दिएको रमेशले बताए। तर हाल भने गणेश बुढा पुलिसमा नरहेको बुझिएको छ। रमेश भन्छन्, ‘उ पुलिसको जागीर छोडेर सुर्खेतमा संस्था खोलेर बसेको छ। मेरो विचारमा उ पुलिसबाट पनि कारवाहीमा परेको होला।’

गत वर्ष कात्तिक १० गते गणेश बुढाले काठमाडौंको सुन्धारामा रमेशका बुबालाई बोलाई एक अपरिचित व्यक्ति (जयबहादुर बिक) लाई उहाँ डीएसपी हो भनेर चिनाएका रहेछन्। उनीहरुको सो समयमा वार्तालापपछि पहिले दिएको तीन लाख रुपैयाँ पुलिसको जागीर खान अपुग हुने भयो भन्दै फेरि दुई लाख रुपैयाँ मागेछन्।

उनीहरुले अर्का एक व्यक्तिलाई पनि उहाँ चाहीँ एसएसपी हो भनेर रमेश र रमेशका बुबालाई चिनाएका रहेछन्। पुलिसको ड्रेसमा नरहेका उनीहरुले रमेश र उनका बुबालाई कारमा चढाएरसमेत सम्बन्धित ठाउँमा पुर्याइदिएका रहेछन्।

त्यसपछि रमेशका बुबा कालिकोट फर्किएर गत वर्षको कात्तिक २५ गते जयबहादुर विकको नाममा दुई लाख आइएमई गरिदिएछन्। उक्त पैसा पनि तीन प्रतिशतको दरले ऋण काटेर उनले पठाएको बताए। जसको सावाँ ब्याज गरी तीन लाख आठ हजार रुपैयाँ पुगेको उनले गुनासो गरे।

त्यस समयमा रमेशलाई ग्लुकोज दिँदै तिमी धेरै कमजोर रहेछौं, यो खाउ भन्दै उनीहरुले तिमी ढुक्क भएर जाउ पुलिस बन्छौं भनेका रहेछन्। नेपाल पुलिसमा जागीर खानको लागि पाँच लाख लकडाउनभन्दा अगाडि नै उनले बुझाएका रहेछन्।

रमेशलाई जय बिकले एक्टिभ कम्पनी देखाएर यो मेरो अफिस हो, यदि केही भएमा यहाँ आएर कुरा गरे हुन्छ भनेका रहेछन्। जय बिक बैतडीको हो भनेर सुरुमा गणेशबुढाले झुट बोले पनि एक्टिभ कम्पनीमा गएपछि उनी पनि कालिकोटकै रहेको कुरा थाहा भएको रमेशले बताए।

रमेशको विदेश जाने सोच नभएकाले पासपोर्टसमेत बनाएका रहेनछन्। उनले भने, ‘मैले विदेश जान्न भन्दा पनि उनीहरुले तिमी विदेश जाउ भन्दै कर गरेका थिए। लकडाउन हुन्जेलसम्म उनीहरु सम्पर्कमा थिए। लकडाउन खुलेपछि गणेश मेरो सम्पर्कमा आउन छोड्यो। अनि मैले अर्को नम्बरबाट फोन गर्दा उसले धम्की दिएर तिमी के के गर्न सक्छौं, गरे भन्न थाल्यो। त्यसपछि पैसा लिने प्रक्रियामा लागिपरेको हो।’

गणेश भन्ने व्यक्तिले पैसा दिन्छ कि भनेर रमेश हाल उ बसेको ठाउँ सुर्खेतसमेत पुगेका रहेछन्। तर, पीडित रमेशलाई उसले टारेर पठाएका रहेछन्। सामान्य परिवारका रमेश दुखेसो पोख्दै भन्छन, ‘त्यत्रो पैसाको ब्याज १८ महिनादेखि तिरिराखेका छौं।’ कुराकानीकै क्रममा घरीघरी अध्यारो अनुहार लगाउँदै कसरी पैसा उठाउन सकिन्छ भन्दै उनी थप्छन्, ‘दुबैलाई मुद्दा हाल्ने विचार छ। मेरो अन्तिम बिकल्प भनेको केस गरिसकेपछि पैसा फिर्ता पाउछु भन्ने छ।’

हाल पैसा उठाउनकै लागि गाउँका आफन्तहरुको कोठामा बस्ने गरेको बताउने रमेशले एसएलसी पास गरेका रहेछन्। पढाई छोडेर पुलिसमा जागीर खाने रहर कताबाट पलायो भनि सोध्दा उनी भन्छन्, ‘देश विदेश धाउनु भन्दा पनि नेपालको सेवा गर्नु नै राम्रो होला भन्ने मेरो पहिलेदेखिकै सोच हो। स्कुल पढ्दा म दौड प्रतियोगितमा जहिले पनि पहिलो हुने गर्थे। त्यसपछि एसएलसी दिएपछि पढ्नु पर्छ भन्दा पनि पुलिसनै बन्नु पर्छ भन्ने सोच्न थाले र काठमाडौं आए। यहाँ कसैलाई पनि चिनेको थिइन त्यसैले गणेश बुढा पुलिस छन् भन्ने थाहा भएकाले फोन गरे। त्यसपछि उनले भने बमोजिम गरे। उनले पुलिसको फारम भर्न लगाए, फर्मको दर्ता नं.११०८२४ हो। पैसा खुवाएर हुन्छ भने पुलिस बन्छु भन्ने लाग्यो र उसैको शरणमा परे। पढ्ने मन त थियो तर छिट्टै सरकारी जागीर खान पाइन्छ, देशको सेवा गर्न पाइन्छ भन्ने भयो र उनलाई पैसा बुझाएका हौं।’

एक्टिभ इम्प्लोई वैदेशिक रोजगारका कामहरुमा परामर्श दिनको लागि स्थापित कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको एउटा कार्यालय मात्र रहेछ। रोजगारसँग सम्बन्धित परामर्श दिने काम गर्नको लागि स्थापित उक्त संस्थाले भिजिट भिसामा मान्छेहरु विदेश पठाएर अलपत्र पार्ने र नेपालमा भएका युवाहरुलाई विभिन्न प्रलोभनमा पारी एक जनाबाट कम्तिमा पनि पाँच लाखसम्म उठाउँदै आएको रहेछ। पीडित रमेशसहित अन्य पीडितलाई विभागले व्यक्तिगत मुद्दा भएकाले पीडकहरुविरुद्ध विभागमा गएर उजुरी दिन भनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.