अमेरिकाका लागि रुसी राजदूत स्वदेश फिर्ता

डिसी नेपाल
८ चैत २०७७ १७:११
40
Shares

मस्को । संयुक्तराज्य अमेरिकाका लागि रुसका राजदूत आइतबार मस्को फर्किएका छन् । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गरेको टिप्पणीलाई लिएर दुई देशबीच उत्पन्न तनाबबीच रुसी राजदूत फिर्ता भएका हुन् ।

रुसी राष्ट्रपति पुटिनले आफ्ना अमेरिकामा रहेका राजदूतसँग परामर्श गर्न भन्दै उनलाई फिर्ता बोलाएका थिए । अमेरिकी राष्ट्रपति बाइडेनले अघिल्लो साता एक अमेरिकी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनलाई “हत्यारा” भनेका थिए ।

अमेरिका र रुसबीचको सम्बन्ध यसअघि नै निकै कमजोर स्तरमा पुगेको थियो । रुसले अमेरिकी राष्ट्रपतिको चुनावलाई प्रभावित पार्नेगरी विभिन्न गतिविधि गरेको तथा रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई जेलमा पठाएको भन्दै अमेरिकी राष्ट्रपति बाइडेन आक्रोशित भएका छन् ।

रुसी समाचार संस्थाका अनुसार अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभ आइतबार बिहान मस्कोस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

मस्को प्रस्थान गर्नुअघि न्यूयोर्कमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफू आवश्यकता अनुसार मस्कोमा रहने बताएका थिए । बताइए अनुसार उनि मस्कोमा आयोजना हुने विभिन्न बैठकमा सहभागी हुनेछन् ।

मस्कोले आफ्ना राजदूतहरुलाई बिरलै स्वदेश फर्काउने गरेको छ । यसअघि सन् १९९८ मा इराकमा पश्चिमा मुलुकले गरेको हवाई आक्रमणपछि रुसले अमेरिकाका लागि आफ्ना राजदूत फिर्ता बोलाएको थियो ।

सन् २०१४ मा युक्रेनबाट क्रिमियालाई आफ्नो भूमिमा समाहित गरेको विरोधमा अमेरिकाले रुसमाथि कारबाही गर्ने धम्की दिएसँग राष्ट्रपति पुटिनले आफ्ना अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *