छोराले अश्लील भिडियो हेर्दा आमाबुवाले पनि कठोर सजाय भोग्नुपर्यो, शिक्षकलाई समेत सजाय
काठमाडौं। एक किशोरले घरमा आमाबुवा नभएका बेला अश्लील भिडियो हेर्दा उनका आमाबुवाले पनि कठोर सजाय भोग्नुपरेको छ । ती किशोरलाई आफ्ना मातापितासँगै घरबाट निष्काशन गरेर देशको अत्यन्तै दुर्गम क्षेत्रमा निर्वासित गरिएको छ । उत्तर कोरियाको उत्तरी प्योङगान प्रान्तको एक स्रोतलाई उद्धृत गर्दै डेलीएनकेले जनाएअनुसार यो महिनाको सुरुतिर सिनुइजुस्थित आफ्नो घरमा अश्लील भिडियो हेरेर पक्राउ परेका एक किशोरलाई आफ्ना आमाबाबुसँगै दुर्गम क्षेत्रमा निर्वासित गरिएको हो।
ती किशोर राती अबेर अश्लील भिडियो हेरिरहेका थिए र उनका आमाबाबु घरमा थिएनन् । उत्तर कोरियामा ‘विकृत’ व्यवहारको निगरानी गर्न गठन गरिएको कार्य टोलीले आकस्मिक निरीक्षण गर्दा उनी पक्राउ परेका हुन् । डेली एनकेका अनुसार त्यहाँ पोर्नोग्राफिक सामग्री हेर्नेहरुलाई ५ देखि १५ वर्षसम्म सुधारात्मक श्रमको सजाय हुन सक्ने व्यवस्था गरिएको छ । यस्तै यस्ता सामग्री आयात र बिक्रीवितरण गर्नेलाई परिमाणको आधारमा आजीवन सुधारात्मक श्रमसहित मृत्युदण्डसमेत हुन सक्छ ।
उत्तर कोरियाको ठूलो शहरमा बसोबास गर्ने व्यक्तिलाई प्रान्तहरूमा निर्वासित गर्नु एकदमै ठूलो सजाय मानिन्छ किनभने यी व्यक्तिहरूले आफ्नो आर्थिक आधार गुमाउने मात्र होइन राजनैतिक तवरमा पनि कलंकित हुनेछन् । रिपोर्टका अनुसार ती विद्यार्थीले अध्ययन गर्ने विद्यालयका प्रधानाध्यापकलाई पनि क्रान्तिकारी सजाय दिइएको छ । प्रधानाध्यापकलाई बिना पारिश्रमिक श्रम गर्नुपर्ने सजाय दिइएको छ यद्यपि उनलाई जागिरबाट भने निकालिएको छैन ।







डिसी नेपाल








Facebook Comment