एक वर्षअघिकै अवस्थामा नेपालः भारतले लकडाउन गर्दा नेपालको रणनीति के ?

तर्कबहादुर थापा
१० चैत २०७७ १३:५४

काठमाडौं। नेपालमा लकडाउनको घोषणा भएको १ वर्ष पूरा भयो। गत वर्षको चैत ११ गतेदेखि लागू हुने गरी सरकारले चैत १० गते लकडाउन घोषणा गरेको थियो।

विदेशबाट नेपाल आएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले गत वर्ष चैत ११ गते लकडाउन घोषणा गरेको थियो। नेपालले लकडाउन घोषणा गर्ने दिनभन्दा ठिक दुई दिन अगाडि भारतमा जनता कफ्र्यू लागेको थियो।

घुम्दैफिर्दै रुम्जाटार भनेझैं आज पुनः हामी त्यही अवस्थामा आएका छौं। भारतमा कोरोना संक्रमित दैनिक करिव ५० हजारको दरले बढिरहेको छन्। नेपाल र भारतको सीमा खुल्ला छन्। नेपाल भारतको सीमाको करिव १८ सय किलोमिटर खुल्ला भएका कारण भारतबाट सिधै नेपाल आउन र जान सकिन्छ।

११ गतेदेखि लागू भएको लकडाउनको १ वर्ष पुग्नै लाग्दा नेपालमा पुनः लकडाउन हुने हल्ला बजारमा आएको छ। भारतबाट आएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु निष्फिक्री गाउँमा घुमेकाले पनि कोरोनाको ग्राफ पुनः उकालो लाग्ने चिन्ता विज्ञहरुले गरेका छन्।

गल्ती दोहोरिनुहुन्न : जनस्वास्थ्यविद्

जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे एक वर्ष पहिलाको गल्ती दोहोरिन नदिन सुझाव दिन्छन्। कोरोनाको चेन ब्रेक गर्न नसक्दा नेपालले ठूलो क्षति बेहोर्नु परेको उनको भनाइ छ। उनले अझै पनि सरकारले पुराना गल्तीहरुलाई आत्मसाथ नगरेमा महामारीको अर्कोरुप आउन सक्ने तर्फ संकेत गरे।

‘हामीले गएको एक वर्षमा धेरै गल्ती गरेका छौं। कोरोना संक्रमण बढेको भन्दै सरकारले लकडाउन त गर्यो। तर, कोरोनाको चैन ब्रेकको लागि कुनै पनि प्रयास नगरेकाले महामारी भोग्नु परेको हो,’ उनले डिसी नेपालसँग भने।

‘सरकारले कोरोना संक्रमणको दोस्रो लहर फैलिन नदिन तयारी गरेको छ। विशेषगरी मन्त्रालयबाट बनाइएका स्वास्थ्यका न्यूनतम मापदण्डहरुलाई पालना गर्नु प-यो। स्वास्थ्यका मापदण्ड पालना गरेमा कोरोनाको चेन ब्रेक हुन्छ।’

भारतका विभिन्न राज्यमा कोरोनाको संक्रमण बढेपछि नेपाल आउनेहरुको स्वास्थ्यबारे सरकारले विशेष ख्याल गर्नुपर्ने डा. पाण्डेको भनाइ छ। पाण्डेले लकडाउनको विकल्पमा पनि सोच्न सरकारलाई आग्रह गरेका छन्।

नेपालको राजनीतिक परिस्थितिलाई अगाडि सारेर जनताको स्वास्थ्यमाथि ठूलो खेलबाड भएको डा. पाण्डेको आरोप छ। उनले भनेका छन्, ‘यो दोश्रो लहरको कोरोना पहिलो जस्तो सजिलो छैन। हामीले राजनीतिलाई मोहोडा बनाएर ठूलाठूला सभा समारोह गरी जनताको स्वास्थ्यमाथि खेलबाड गरिसकेका छौं। अझै पनि सरकारलाई आग्रह छ यस्तो कार्यक्रमहरुमा रोक लगाउनु पर्छ।’

अब लकडाउन भयो भने जनता आफै सडकमा आउनसक्ने तर्फ संकेत गर्दै डा. पाण्डेले भने, ‘हामीले लकडाउन विकल्प हैन भन्ने कुराको प्रमाण हेरिसकेका छौं। गत वर्ष पनि लामो समय गरिएको लकडाउनले सकारात्मक परिणाम दिन सकेन। अब जनता त्यस्तो लकडाउनको पक्षमा छैनन्। सरकाले लकडाउनको विकल्पमा सोच्नु पर्छ।’

सतर्क हुन आग्रह गरेका छौं : स्वास्थ्य मन्त्रालय

भारतबाट नेपाल आउनेहरु संक्रमित भएर आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सचेत हुन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुनः कोरोना फैलिन सक्ने भन्दै सबैलाई स्वास्थ्यको न्यूनतम मापदण्डको प्रयोग गर्न अनुरोध गरिउको बताएका छन्।

डिसी नेपालसँग कुरा गर्दै डा. गौतमले भने, ‘सरकारले कोरोना संक्रमणको दोस्रो लहर फैलिन नदिन तयारी गरेको छ। विशेषगरी मन्त्रालयबाट बनाइएका स्वास्थ्यका न्यूनतम मापदण्डहरुलाई पालना गर्नु प-यो। स्वास्थ्यका मापदण्ड पालना गरेमा कोरोनाको चेन ब्रेक हुन्छ।’

मन्त्रालयका अनुसार पछिल्लो समय भारतबाट आएका हरुमा कोरोनाको संक्रमण पुष्टि भएको छ। सोमबार मात्र १५० जना थप कोरोनाका संक्रमितहरु भेटिएका छन् भने ३ जनाले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ।

डा. गौतमले भने, ‘हामीले त्यो अवस्था पुनः नदोहोरियोस भन्नका लागि सूचना नै जारी गरेका छौं। सूचित गर्ने काम हाम्रो हो समाजमा रहेका हरेक एक व्यक्तिको काम हो त्यसलाई लागू गर्ने र कोरोनाको महामारीबाट बच्ने।’

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी देशभर, सभा, जुलुस ¥याली, जमघट, गोष्ठि, सेमिनार तथा बैठक र भिडभाड हुने कार्य नगर्न/नगराउन अनुरोध समेत गरिसकेको छ।

हामी तयार छौं : सीसीएमसी

कोरोनाको महामारीलाई मध्यनजर गर्दै गठन भएको कोभिड क्राइसीस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले दोस्रो लहरको कोरोना नआउने स्वास्थ्य मन्त्रालयले ध्यान दिएको बताउँदै आइपरे आफूहरु तयार भएर बसेको बताएको छ।

सीसीएमसीका सचिव खगराज बरालले डिसी नेपालसँग कुरा गर्दै भने, ‘सकभर दोश्रो लहर नआउने गरी मन्त्रालयले तयारी गरेको छ। हामीले पनि सुझावसल्लाह दिइरहेका छौं। तर, आइहाल्यो भने पनि हामी तयारी अवस्थामा छौं।’

यसअघि पनि सीसीएमसीले कोरोना महामारीमा आफूलाई क्रियाशील बनाएर शव व्यवस्थापनलगायतका विषयमा काम गरेको छ। ‘त्यो बेलामा सुरुवाती अवस्था र धेरै कुरा थाह नभएकोले चाहेजति गर्न नसकेको होला,’ सचिव बरालले भने, ‘अब त्यो अवस्था हुँदैन। हाम्रो सम्पूर्ण युनिटहरु सबै खाले अफ्ठेरोको लागि तयारी अवस्थामा छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *