प्रदेश १ का मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद विस्तार

डिसी नेपाल
१३ चैत २०७७ १३:४०

काठमाडौं। सर्वोच्चले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काएपछि बहुमतमा रहेका प्रदेश एक सरकारका मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद पुर्नगठन गरेका छन्। उनले चारजना मन्त्री थपेका छन्। प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरूलाई सपथ गराएका छन्।

मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सोही मन्त्रालयमा राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङलाई दिएका छन्। यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी यसअघि सोही मन्त्रालयमा राज्यमन्त्री रहेका रामबहादुर मगरलाई दिइएकाे छ।

मुख्यमन्त्री राईले आर्थिक मामिलातथा योजना मन्त्रीको जिम्मेवारी टंक आङ्बोहाङ र समाजिक विकास मन्त्रीको जिम्मेवारी उषाकला राईलाई दिएका छन्। आङ्बोहाङ माओवादी केन्द्रको संसदीय दलको नेता छोडेर एमालेमा आएका हुन् भने राई माधव नेपाल समूह छोडेर ओली समूहका आएकी हुन्।

मुख्यमन्त्री राईले दुई जनालाई राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्। कला घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र राजकुमार ओझालाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्ती भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै प्रचण्ड–माधव नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिएका थिए। उनीहरुले मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराएका थिए। उनीहरुले राजीनामा दिएसँगै मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी र आर्थिक मामिला तथा योजना मन्त्रालय आफैंसँग राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *