सत्ता र शक्तिको पछाडि ‘प्रचण्ड’ छटपटी

मदन कोइराला
१६ चैत २०७७ १५:११

काठमाडाैं। देशकै ठूलो पार्टी, पार्टीको नेतृत्वको सरकार, दुई तिहाइको समर्थन अनि आफू पार्टी अध्यक्ष। चाहे अनुसार शक्ति केन्द्रलाई प्रभाव पार्न सक्ने। आफू जताजता राजनीतिको मियो त्यता त्यता पार्न सक्ने प्रभावशाली भूमिका। यस्तो स्थान र भूमिकामा रहेको व्यक्तित्व एकाएक सत्ता र शक्तिको रवाफिलो दैनिकीबाट उछिट्टिएर सडकमा बजारिँदा उसको मनोबिज्ञान कस्तो होला?

यसको उत्तर सजिलै पाउन हिजोआज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पढ्नु पर्छ। उनका भाषण सुन्नुपर्छ। उनको अनुहारको भावमात्र पढ्दा पनि सजिलै अनुमान लाउन सकिन्छ कि प्रचण्ड मनोविज्ञान खलबलिएको छ।

पुस ५, २०७७ को एकदिन अगाडिसम्म प्राय: बालुवाटार र खुमलटारबाट शक्ति र सत्ताको केन्द्रमा रहने प्रचण्ड फागुन २३, २०७७ पछि एकाएक शक्तिहीन भएका छन्। प्रचण्डका पछिल्ला अभिव्यक्तिले यसलाई अझ पुष्टि गर्छन्।

चुनावबाट संसदको तेस्रो ठूलो दलको नेतामा खुम्चिएका प्रचण्ड तत्कालीन एमालेसँग एकता गरी नेकपा बनाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति हुन्। त्यसैबाट उनले सत्ता र शक्ति आर्जन गरे। तर बिगत एक वर्षमा नेकपाभित्र भएका कलह व्यवस्थापनमा चुक्दा आज उनी फेरि त्यही तेश्रो दलको नेतामा खुम्चिन आइपुगे।

सर्वोच्चले नेकपा खारेज गर्ने निर्णय गरेपछि एमालेले आफ्नो संगठनलाई पूर्ववत् अवस्थामा फर्काएको छ। सुरुका केही दिनमा केही भद्रगोल अवस्था देखिएपनि अहिले एमाले पूर्ववत अवस्थामा फर्किएको छ। तर माओवादीको सुरुदेखि नै संगठन राम्रो नभएका कारण अहिले उनीहरु झन भद्रगोल अवस्थामा पुगेका छन्।

उनको दल सत्ता बाहिर छ। सरकारको धुवाँधार बिरोध गर्छन्। तर उनकै दल माओवादी केन्द्रले अहिलेसम्म औपचारिक रुपमा सरकारको समर्थन गरेको छ। आफैंले प्रतिगामी घोषित गरेको सरकारलाई समर्थन फिर्ता हुनुपर्ने हैन र? भन्ने नागरिकका प्रश्नमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक कार्यक्रममा मुख फोरे, ‘वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नदिन आफूमाथि दवाव छ।’

तर परिस्थिति उनले भनेजस्तो मात्र पनि छैन। नागरिक समाज, प्रेस र अन्य दलहरुबाट समेत माओवादी केन्द्रसँग सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाव दिइरको परिस्थिति पनि विद्यमान छ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिने, त्यसो नभए अविश्वासको प्रस्तावमार्फत भएपनि प्रधानमन्त्री ओलीको बर्हिगमन हुने बताएका दलहरुले अहिलेसम्म संसदमा अविश्वासको प्रस्ताव ल्याउने हिम्मत गर्न सकेका त छैनन् नै, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन सकेको छैन। अनि सार्वजनिक कार्यक्रममा प्रचण्ड आफूमाथि समर्थन फिर्ता नलिन दबाव आएको जिकिर गर्दै हिँडेका छन्।

प्रचण्ड समर्थन फिर्ता लिन किन चाहँदैनन्?

एमालेसँग एकता गर्दा ४० प्रतिशत भागवण्डा लिन सफल माओवादी केन्द्र नेकपा खारेज भएसँगै असहज अवस्थामा पुगेको छ। माओवादीका केही शीर्ष नेता एमालेमा प्रवेश गरिसकेका छन्। एकता हुँदा पाएको ४० प्रतिशत हिस्साले उसले केही जिल्लामा अध्यक्ष र सचिव पाएको थियो। अध्यक्ष पाएको जिल्लामा माओवादी केन्द्रको संगठन केही राम्रो भएपनि सचिव पाएको ठाउँमा उसको संगठन राम्रो छैन।

सर्वोच्चले नेकपा खारेज गर्ने निर्णय गरेपछि एमालेले आफ्नो संगठनलाई पूर्ववत् अवस्थामा फर्काएको छ। सुरुका केही दिनमा केही भद्रगोल अवस्था देखिएपनि अहिले एमाले पूर्ववत अवस्थामा फर्किएको छ। तर माओवादीको सुरुदेखि नै संगठन राम्रो नभएका कारण अहिले उनीहरु झन भद्रगोल अवस्थामा पुगेका छन्।

अहिले एमालेभित्रको माधव नेपाल समूह पनि एमालेमै फर्किसकेको छ। यस्तो अवस्थामा एमालेबाट निर्वाचित पदाधिकारी अर्को दलमा जान सक्दैनन्। गइहालेमा कारवाही हुन्छ र सांसद पद समेत गुम्छ।

यस्तो अवस्थामा प्रचण्डलाई प्रचण्डलाई माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा पार्टी ब्यूँताउन सकस परेको छ साथसाथै आफ्ना बचेका नेता र कार्यकर्ता जोगाउन हम्मेहम्मे नै छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिउँ ओलो सरकार अल्पमतमा पर्छ। अल्पमतको सरकारले संसदबाट विश्वासको मत लिनुपर्छ। विश्वासको मत लिन नसक्ने अवस्थामा प्रधानमन्त्रीले संसद विघटन गरी चुनावको घोषणा गर्न सक्छन्।

यही अवस्थामा चुनाव हुने वातावरण भैहाल्यो भने अहिले भएका सिटमात्र जोगाउन पनि मुस्किल पर्छ। यस्तो परिस्थितिमा सरकार टिकाइदिनुको विकल्प भन्दा अरु बलिया विकल्प नभएकै कारण हुनसक्छ, प्रचण्डले सार्वजनिक रुपमै भने दाह्रा किटेर सरकारको समर्थन गर्नु परेको छ।

सरकार विरुद्ध अविश्वासको प्रस्ताव पारित नहुने अनि सरकारले विश्वासको मत पनि लिन नसक्ने अवस्था आयो भने त्यसपछिको विकल्प भनेको निर्वाचन नै हो। निर्वाचनको पक्षमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी सकारात्मक छन्।

तर अहिले, पार्टी र संगठन दुबै कमजोर भएको बेला निर्वाचनमा जाने अवस्था आयो भने सबैभन्दा बढी घाटा माओवादीलाई हुने देखेर प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता नलिएका हुन् भन्ने मतको खण्डन स्वयं प्रचण्डसँग छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *