मारवाडी समितिबाट निःशुल्क कृत्रिम खुट्टा पाएका वृद्ध भन्छन्ः किनेर खुट्टा हाल्न सक्दिनथेँ, गज्जब लाग्यो

रिता बस्नेत
२२ चैत २०७७ १३:०६
92
Shares

काठमाडौं। गौशाला धर्मशालामा शुक्रबार बिहान एक दम्पती प्रफुल्ल मुद्रामा देखिन्थे। काभ्रेका शंकरबहादुर सोनार र उनकी श्रीमती सुमित्रा सोनार अघिल्लो दिनदेखि त्यही धर्मशालाको एक कोठामा आएर बसेका रहेछन्।

२०७२ सालको भूकम्पले एउटा खुट्टा गुमाएका शंकरबहादुर पहिलो पटक कृत्रिम खुट्टा लगाउँदै थिए। वैशाखी छेउमै राखेर कृत्रिम खुट्टाको पर्खाइमा बसेका उनी भन्दै थिए, ‘हिजो आएकै दिन हिड्न सजिलो भयो कि भएन भनेर एकछिन लगाएर हिड्न लगाइएको थियो ।

बैशाखी टेक्ने बानी परेकाले खुट्टा लगाएपछि पनि वैशाखी टेकेरै हिँडे।’ गाउँमा खेतीपाती र फर्निचरको काम गर्दै आएको बताउने उनले टेक्ने बानी परेको वैशाखी फालिहाल्न भने केही समय लाग्ने अनुमान गरे।

त्यहाँ बस्दाबस्दै मारवाडी सेवा समिति नेपाल एवं श्रीपशुपति गौशाला धर्मशालाद्वारा संचालित निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रमअन्तर्गत उनले कृत्रिम खुट्टा लगाउन पाए। खुट्टा लगाएर बिस्तार हिँडे र अलि पर गई बसे र भने, ‘पहाडमा ढुंगा माटोको घर भुईचालोले लडेपछि घाइते भएर खुट्टा काट्नु पर्यो। हस्पिटलले त्यतिबेलै लगाउनु भनेको थियो, पैसा थिएन । यहाँ निःशुल्क पाएँ।’

कृत्रिम खुट्टा लगाएर हसिलो अनुहारमा बसेका उनले थपे, ‘आज त गज्जब लागेको छ। पैसा तिरेर कृत्रिम खुट्टा लगाउन सक्दिन थिएँ। बिना पैसा कृत्रिम खुट्टा दिनेलाई धेरै धेरै धन्यवाद।’

हँसिलो अनुहार पार्दै खुट्टालाई हेरे र फेरि भने, ‘यस्तो सेवा पाएपछि पनि धन्यवाद नदिनु त अनि?, प्रतिप्रश्न गर्दै भने, धन्यवाद। कृत्रिम खुट्टा लगाएपछि धेरैचोटी समितिलाई धन्यवाद दिएका उनले अबका दिनमा गाउँघरमा आफ्नो नित्य काम गर्न सजिलो हुने बताए ।

गौशाला धर्मशाला र मारवाडी सेवा समितिका पदाधिकारीसहितको उपस्थितिमा प्रमुख व्यक्तिको हातबाट समितिले हरेक शुक्रबार नियमित रुपमा कृत्रिम खुट्टा निःशुल्क वितरण गर्दै आएको छ। गत शुक्रबार पनि संविधानविद् डा.भिमार्जुन आचार्यसहित समितिका पदाधिकारीले शंकर सोनारसँगै पोखराका युवा सौरभ कोइरालालाई कृत्रिम खुट्टा वितरण गरेको थियो ।

कार्यक्रममा संविधानविद् डा.आचार्यले यस्तो सेवा मानव समुखदायकै लागि खुसीको कुरा भएको र मानिसको लागि यो सन्देशमूलक भएको बताए। साथै, उनले पृथ्वी रहेसम्म यस्ता क्रियाकलाप सधैं कायम रहोस भन्दै कामना गरे।

मारवाडी सेवा समितिका पूर्व महासचिव तथा गौशाला धर्मशालाका महासचिव महाविर गिरैयाले कसैलाई कृत्रिम खुट्टाको आवश्यकता भएमा सन्देश दिनुहोला भन्दै धर्मशालाले हरेक प्रकारका निःशुल्क सेवाहरु अझै थप्दै जाने जानकारी गराए। उनका अनुसार गौशाला धर्मशालाअन्तर्गत रहेर अहिलेसम्म चार हजार जनालाई निःशुल्क कृतिम खुट्टा वितरण गरिसकिएको छ भने चार वर्षयता अर्थात् नयाँ टेक्नोलोजी सुरु भएयता ६ सय जनालाई कृत्रिम खुट्टा वितरण गरिएको छ ।

समितिले प्रत्येक हप्ताको शुक्रबार निःशुल्क वितरण गर्ने कृत्रिम खुट्टा २०७३ सालदेखि सुरु गर्दै आएको हो। जुन कृत्रिम खुट्टा बनाउने देखि लिएर सम्र्पूण काम भने समितिका अर्थोपेडिक टेक्निसियन अर्थात् कार्यालय प्रमुख हरिराम बोगटी र सहायक टेक्निसियन मन्जु लामाले गर्दै आएका छन् । कृत्रिम खुट्टा बनाउने सामग्री भने चीन, भारतबाट आउने बोगटीले बताए।

उनका अनुसार त्यहाँ कृत्रिम खुट्टा बनाउन २०५९ सालदेखि सुरु भएको हो। जुन, राष्ट्रिय मारवाडी परिषदले सुरु गरेको थियो। पछि २०७४ सालबाट मारवाडी सेवा समितिले पुनः नयाँ प्रविधि(मोडुलर)को कृत्रिम खुट्टा बनाउन सुरु गर्यो । अहिले मोडुलर किटको नयाँ टेक्नोलोजीबाट बनाइएका कृत्रिम खुट्टा समितिले निःशुल्क दिदँै आएको छ। जुन, खुट्टाको बजार मूल्य ६० देखि ७० हजार रुपैयाँ पर्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *