सौन्दर्य प्रतियोगितामा विजेताको शिरबाट ताज खोसियो, राष्ट्रिय टेलिभिजनमा विजेताको बेइज्जती

डिसी नेपाल
२५ चैत २०७७ ११:५२
13.2k
Shares

काठमाडौं। सौन्दर्य प्रतियोगिताको विजेता घोषित भइसकेपछि झुटो दावी गर्दै विजेताको ताज खोसियो । यस क्रममा ती विजेताको शिरमा लगाइसकिएको ताज खोसियो । तर, पछि उनी नै वितेता भएको ठहर भयो । मिसेज श्रीलंकाको विजेता घोषित गर्ने क्रममा भएको यो बेइज्जतीको भिडियो अहिले सार्वजनिक भएपछि चर्चामा छ ।

खासमा मिसेज श्रीलंका घोषित भएर ताज लगाइसकिएपछि अचानक उनी यो उपाधिको लागि अयोग्य भएको भन्दै २०१९ की विजेताले अहिलेकी विजेताको शिरबाट ताज खोसिन् । २०२१ की विजेता घोषित भएकी पुष्पिका डि सिल्भाको शिरबाट ताज निकाल्ने क्रममा उनको टाउकोमा चोट लाग्यो । सौन्दर्य प्रतियोगितामा अघिल्लो विजेताले नयाँ विजेतालाई ताज लगाइदिने प्रचलन हुन्छ । स्टेजमा भएको हंगामामा चोटग्रस्त भएकी पुष्पिकाले आयोजक टिमविरुद्ध कानुनी कारवाही गर्ने भएकी छिन् ।

बीबीसीका अनुसार राष्ट्रिय टेलिभिजनमा प्रसारण भइरहेको कार्यक्रममा पहिले पुष्पिका डि सिल्भालाई विजेता घोषित गरियो । तर, तत्कालै २०१९ की मिसेज श्रीलंका क्यारोलिन जुरीले पुष्पिकाको टाउकोमा लगाइसकिएको ताज खोसिन् । क्यारोलिनले पुष्पिका सम्बन्धविच्छेद गरेकी महिला भएको र उनलाई गलत तरिकाले विजेता बनाइएको दावी गरिन् । उनले पुष्पिकाको टाउकोबाट ताज खोसेर दोस्रो भएकी महिलालाई लगाइदिइन् ।

घटनापछि पुष्पिका रुँदै स्टेजबाट तल ओर्लिन् । पूर्व विजेता क्यारोलिनले दर्शकसँग भनिन् ‘यो सौन्दर्य प्रतियोगिताको एक नियम छ जसमा सम्बनधविच्छेद गरेका महिला भाग लिन पाउँदैनन् त्यसैले मैले यो ताज दोस्रो भएकी महिलालाई दिँदैछु ।’ तर, जाँचको क्रममा आयोजकले पुष्पिका सम्बन्धविच्छेद गरेकी महिला नभएको पाएका छन् । आयोजकले क्यारोलिनको दावी गलत भएको पाइएपछि यो पूरै घटनाक्रमको लागि पुष्पिकासँग माफी मागेका छन् ।

खासमा पुष्पिका आफ्ना पतिसँग छुट्टै बस्छिन् तर उनको सम्बन्धविच्छेद भएको छैन । पुष्पिकाले मञ्चमा भएको आफ्नो बेइज्जतीको कानुनी उपचार खोज्ने बताएकी छिन् । उनले फेसबुक पोस्टमार्फत जबसजस्ती ताज खोस्दा आफ्नो टाउकोमा चोट लागेको र आफू अस्पताल जानु परेको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.