राजकुमार फिलिपको अन्तिम संस्कार एक हप्तापछि, ३० जना मात्र सहभागी हुने
काठमाडौं। दिवंगत बेलायती राजकुमार फिलिपको अन्तिम संस्कारको योजनामा आज महारानीले हस्ताक्षर गर्ने तय भएको छ । राजकुमार फिलिपको अन्तिम संस्कारमा ३० जना मात्र सहभागीहुन पाउनेछन् । कोरोनाभाइरस प्रतिबन्धका कारण महारानीले केवल ३० जना मात्र रोज्नुपर्ने बाध्यता भएको हो । ९९ वर्षका ‘ड्युक अफ एडिनबरा’ हिजो विन्डसर क्यासलमा शान्तिपूर्वक मृत्युवरण गरेको बकिंघम राजदरबारले पुष्टि गरेको थियो ।
आज महारानी एलिजाबेथ द्वितीयले आफ्नो परिवारका निकट व्यक्तिहरु छोरा राजकुमार चार्ल्स, नाती राजकुमार विलियमसहितका सदस्यहरु र निकट सल्लाहकारहरुसँग राजकुमार फिलिपको अन्तिम संस्कारको योजनाबारे छलफल गर्ने बेलायती अखबार द सनले जनाएको छ । राजकुमार फिलिपको अन्तिम संस्कार उनको निधनको ८ दिनपछि अर्को शनिबार विन्डसरको सेन्ट जर्ज चापेलमा हुने अपेक्षा गरिएको छ यद्यपि इङल्याण्डमा जारी कोभिड–१९ लकडाउनले यो योजना प्रभावित हुन सक्छ ।
रिपोर्टअनुसार दिवंगत ड्युकले जीवितै रहँदा आफ्नो अन्तिम संस्कारको मोटामोटी खाका बनाएका थिए र उनले सकेसम्म कम मानिस र कम औपचारिकतामा आफ्नो अन्तिम संस्कार चाहेका थिए । राजकुमार फिलिपलाई अन्तिम विदाइ गर्न हजारौं जनता लण्डन र विन्डसरमा आउने अपेक्षा गरिएको छ । तर, बोरिस जोनसनको कोभिड–१९ लकडाउन रोडम्यापका अनुसार अहिले अन्तिम संस्कारमा अधिकतम ३० जना मात्र सहभागी हुन पाइन्छ । साथमै बस्ने वा सपोर्ट बबल बनाएका व्यक्तिहरुबाहेक अरु सबैले सामाजिक दुरी पनि कायम राख्नुपर्छ ।
एक शाही स्रोतले द सनसँग भन्यो ‘कोभिड–१९ ले व्यवस्थापनलाई तहस नहर पारेको छ त्यसैले आम सर्वसाधारणलाई भिडमा जम्मा नहुन प्रोत्साहित गरिएको छ र उनीहरुलाई व्यक्तिगत रुपमा स्मरण गर्न र श्रद्धाञ्जली दिन भनिएको छ ।’ राजदरबार स्रोतका अनुसार अन्तिम संस्कार आयोजकहरुले कार्यक्रममा भीडभाड नहोस् भन्ने सुनिश्चित गर्न चाहन्छन् । महारानीले आफूसँग ७० वर्षभन्दा धेरै समयसम्म वैवाहिक रुपमा साथी बनेर रहेका राजकुमारको अन्तिम संस्कारको योजनामा हस्ताक्षर गर्नेछिन् ।
दिवंगत ड्युकको इच्छाअनुसार उनलाई राजकीय सम्मानका साथ भव्य विदाइ दिइने छैन । महारानीको पतिका रुपमा उनी यो सम्मानको हकदार थिए तर उनी आफैंले यस्तो नचाहेको जीवित छँदै भनेका थिए । यद्यपि ड्युकलाई सलामी दिनको लागि सैन्य टुकडी भने उपस्थित हुने अपेक्षा गरिएको छ । बकिंघम राजदरबारले कोरोनाभाइरस महामारी र सरकारको सल्लाहलाई ध्यानमा राख्दै महारानीले परिष्कृत अन्तिम संस्कारको योजनाबारे विचार गरिरहेको र छिटै सार्वजनिक गरिने बताएको छ ।
दिवंगत ड्युकको पार्थिव शरीर एक हप्तासम्म विन्डसर क्यासलमै राखिने सम्भावना छ । उनको पार्थिव शरीरलाई निजी अन्तिम संस्कार कार्यक्रमपछि विन्डसर क्यासलको सेन्ट जर्ज चापेलमा ‘विश्राम’ गराइने अपेक्षा गरिएको छ । उनको कफिनलाई त्यसपछि रोयल भल्टमा लगिनेछ जहाँ महारानीका पिता जर्ज छैटौं र हजुरबुवा जर्ज पाँचौंको कफिन पनि चिहानमा सारिनुअघि लगिएका थिए । ड्युक अफ एडिनबरालाई विन्डसर क्यासलको फ्रगमोरे गार्डेन्समा गाडिने अपेक्षा गरिएको छ ।







डिसी नेपाल








Facebook Comment