शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा भएको आगलागी नियन्त्रणमा
काठमाडौं । काठमाडौँ नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो) नियन्त्रणमा आएको छ । आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार आगो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको हो । यसअघि पाथीभरामा लागेको आगो नियन्त्रणका लागि पनि हेलिकप्टर प्रयोग गरिएको थियो ।
आगो निभाउन हेलिकप्टरमा एक हजार लिटर जाने ट्याङ्की (व्याम्बी बकेट) को प्रयोग गरिएको छ । यसअघि स्थानीय समुदाय र सुरक्षा निकायको सहभागितामा गरिएको प्रयास जारी रहँदै गर्दा फैलिने क्रम नरोकिएपछि हेलिकप्टर प्रयोग गरिएको जनाइएको छ । स्थलमार्गबाट पनि दमकलसहित स्थानीय सङ्घ संस्था, समुदायका प्रतिनिधि तथा सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरेका थिए।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन तथा वातावरण, खानेपानी, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मेलम्ची खानेपानी आयोजनालगायतको समन्वयमा आगलागी नियन्त्रणको काम भएको हो । हेलिकप्टरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन पोखरीको पानी प्रयोग गरेको छ ।







डिसी नेपाल







Facebook Comment