कोरोनाको खोप लगाउन लाइनमा बसेकाहरुले खोप सकिएको थाहा पाएपछि…

रिता बस्नेत
५ वैशाख २०७८ १९:५५

काठमाडौं। काठमाडौंको मिनभवनस्थित सिभिल अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउन लाइनमा बसेकाहरुले आइतबार साँझ आन्दोलन गरेका छन्। खोप लगाउन करिब चार घण्टा लाइनमा बसेकाहरुलाई खोप सकियो भनि घर फर्किन भनेपछि त्यहाँ लाइनमा बसेकाहरुले आन्दोलन सुरु गरेका हुन्।

आन्दोलित भिडलाई साम्य पार्न पछि टोकन थम्याइएको थियो। टोकन लिएकाहरुलाई सोमबार खोप लगाउने समय तोकिएको छ।

‘टोकन दिएर खोप भोलि दिने भनेको छ। अहिले त टोकन मात्रै दिइराखेको हो’, एक व्यक्तिले टोकन बाड्दै गरेको तिर संकेत गर्दै भने, ‘यस्तो हुन्छ भने माथिकालाई किन भन्नु पर्यो क्या। सामान्य हुने काम त जसले गर्दा पनि हुन्छ। यो काम यतिखेरको सट्टा अघिनै भइदिएको भए हामी घर अघिनै जान्थ्यौ नि।’

आन्दोलन निक्कै चर्केपछि सम्बन्धित निकायले भनेबमोजिम टोकन बाड्नु भनेपछि आन्दोलन साम्य भएको ती व्यक्तिको भनाइन छ। उनका अनुसार त्यहाँ उपस्थित कर्मचारीले पहिला नै खोप लगाउने व्यक्तिलाई टोकन दिएको भए आन्दोलन नै हुने थिएन।

अफिसमा बिदा मिलाएर खोप लगाउन आएका राम किशोरले टोकन देखाउदैँ भने, ‘अफिस बिदा लिएर आएको सधैं अफिस बिदा लिन त मिल्दैन नी ? बिहानदेखि हामी लाइनमा बस्यौं। खोप लगाउने ठाउँनेर आइपुगेपछि ठिक चार बजे उहाँहरुले खोप सकियो भन्नु भयो। ठ्याक्कै चारै बजे खोप सकिन्छ त ? उहाँहरुको चार बजे समय सकियो त्यही भएर भन्नु भएको होला। त्यसपछि झगडा गरेपछि बल्लतल्ल उहाँहरुले टोकन सिस्टम गर्नु भयो।’

उनले थप्दै भने, ‘लाइन बस्दैखेरी हामीलाई टोकन दिनु भनेर पहिल्यै भनेका थियौं। उहाँहरु लाइन बसेकाहरुलाई चार चोटीसम्म गनेर जानु भयो। खोप कतिजनालाई पुग्छ भनेर पहिल्यै थाहा हुँदैन र ? चार बजे बन्द गरेर खोप छैन भन्न मिल्छ त ? यहाँ चार घण्टा लाइनमा बसेपछि खोप सकियो भनियो। व्यवस्थापन त पहिल्यै गर्नु पर्यो नि।’

आइतबार साँझ पौने पाँच बजे हातमा टोकन लिएर त्यहाँ उभिइराखेका अर्का व्यक्तिले आक्रोश पोख्दै भने, ‘एकजना बुढा मान्छे लाइन लागेर खोप लगाउने ठाउँसम्म आएका थिए, पछि खोप छैन भनिदिइयो । यस्तो पनि हुन्छ ?’

शंखमूलबाट आएकी सुन्तली श्रेष्ठ भने आन्दोलन हुन थालेपछि घरतिर लागेकी रहेछिन्। तर उनलाई सँगै आएका भाइले टोकन बाड्दै छ आउनु भनेपछि दौडेर टोकन लिन आएकी रहेछिन्। उनी त्यहाँ आइपुग्दा टोकन भने सकिएको थियो। त्यसै समयमा त्यहाँ उपस्थित प्रहरी र सरकारी कर्मचारीहरुसँग आग्रह गर्दै उनले भनिन्, ‘सर एउटा टोकन दिन मिल्दैन, मिलाइदिनु न।’

त्यसै समयमा उनले गुनासो गर्दै डिसी नेपालसँग भनिन्, ‘अघि लाइन बसे खोप सकियो भनेपछि फर्केर घर गएँ। फेरि लाइनमा बसेको भाइले मैले त टोकन लिए दिदी, एकजनालाई एउटा मात्रै दिदो रहेछ भनेपछि फर्केर आएँ। तर मैले त पाइन। एक बजे लाइनमा बसेको साढे चार बजे घर गएको। सबैजना आन्दोलन गर्न थाले त्यसपछि घर गएको हो।’

उक्त अस्पताल परिसरमा आइतबार साँझ चार बजेसम्म करिब ६ देखि साढे ६ सय जनाले खोप लगाएको त्यहाँ उपस्थित एक सरकारी कर्मचारीले बताए। र, तीन सय ६५ नम्बरदेखि ६ सय १० नम्बरसम्मको टोकन बाडिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *