भारतमा अगष्टसम्म कोरोनाबाट १० लाख मानिसको मृत्यु हुने अध्ययनको निष्कर्ष
काठमाडौं। भारतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेहरुको संख्या लगातार बढिरहेको छ । मंगलबार मात्र भारतमा ३ हजार ४३८ जनाको मृत्यु भयो । यससँगै भारतमा यो भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख २२ हजारभन्दा धेरै भइसकेको छ । यही बीचमा अमेरिकाको शीर्ष विश्वव्यापी स्वास्थ्य अनुसन्धान संस्थाले यदि कठोर उपाय नगरिएमा भारतमा आगामी अगस्टसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेहरुको संख्या १० लाख पुग्ने अनुमान गरेको छ ।
हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार यो संस्थाले यसअघि यही समयसम्म ९ लाख ६० हजार जनाको मृत्यु हुन सक्ने अनुमान गरेको थियो । यो महामारीका कारण पछिल्लो हप्ता कोरोनाबाट मर्नेहरुको संख्या ७८ प्रतिशतले बढेको थियो । अमेरिकाको बाइडेन प्रशासनका शीर्ष अधिकारी तथा राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सभिलियनले एबीसी न्यूजसँग कुरा गर्दै भने ‘भारतमा यो महामारी नियन्त्रणबाट बाहिर भइसकेको छ ।’
इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभोल्युसनले आफ्नो पोलिसी ब्रिफिङमा भनेको छ ‘स्वास्थ्य प्रणालीलाई बलियो बनाउनको लागि कडा उपाय नगरीकन, सामाजिक दूरी र फेस मास्कको प्रयोग नगरीकन भारतको स्थिति निकै खराब देखिन्छ ।’ सिएटलस्थित युनिभर्सिटी अफ वाशिङटनको एक शाखाको रुपमा काम गर्ने यो स्वतन्त्र अनुसन्धान संस्थाले १ अगष्टसम्म भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० लाख, १९ हजार हुने अनुमान गरेको छ ।
यो पूर्वानुमान २५ देखि ३० अप्रिलसम्मको तथ्यांकमा आधारित छ । सबैभन्दा खराब स्थितिमा कोरोनाबाट मर्नेहरुको यो संख्या १.२२ मिलियन अर्थात १२ लाख २० हजारसम्म पुग्ने अनुमान छ । यदि युनिभर्सल मास्क कभरेज आगामी एक हप्तामा हासिल गर्न सकिएमा मृत्यु हुने संख्या ७३ हजारले घटाउन सकिन्छ । संस्थाले भारतमा कोरोनाको पीक यही मे महिनाको २० मा हुने र त्यसपछि संक्रमणका केसहरु घट्न थाल्ने अनुमान गरेको छ ।







डिसी नेपाल








Facebook Comment