इजिप्टले फ्रान्ससँग ३० वटा राफेल लडाकू विमान किन्ने
फाइल
पेरिस । इजिप्टले फ्रान्ससँग अरु ३० वटा राफेल लडाकू विमान खरिद गर्ने भएको छ । यो सहित इजिप्टसँग ५४ वटा राफेल लडाकू विमान हुनेछन् । अधिकारीहरुका अनुसार फ्रान्सेली वायुसेना पछि राफेल सबैभन्दा बढी राख्ने मुलुक इजिप्ट हुनेछ ।
दुबै मुलुकले राफेल विमान खरिद सम्झौता भएको मङ्गलबार घोषणा गरेका छन् । इजिप्टको सेनाले राफेल विमान खरिदका लागि फ्रान्ससँग १० वर्षे ऋण लिइएको जनाएको छ । तर सम्झौता के कति रकममा गरिएको हो भन्ने इजिप्टको सेनाले केही खुलाएको छैन ।
इजिप्टले सन् २०१५ मा २४ थान राफेल लडाकू बिमान ५ अर्ब ९३ करोड डलरमा खरिद गरेको थियो । फ्रान्समा उत्पादित अत्याधुनिक यस राफेल विमान खरिद गर्ने पहिलो राष्ट्र पनि इजिप्ट नै हो । निकै अत्याधुनिक भए पनि यसको विदेशमा बिक्री त्यति बढी हुन सकेको छैन ।
इजिप्टले राफेल विमान खरिद गर्नुअघि बजारको खोजीमा रहेको फ्रान्सेली उत्पादक कम्पनी डासल्ट एभिएसनका यी विमान फ्रान्सेली वायुसेनाले सन् २००६ देखि प्रयोगमा ल्याइरहेको थियो । हाल यी विमान भारत र ग्रिस समेतका केही मुलुकमा बिक्री हुन थालेका छन् ।
फ्रान्सेली रक्षा मन्त्रालयले राफेल सम्झौताबाट फ्रान्समा तीन वर्षसम्म सात हजारले नयाँ रोजगारी प्राप्त गर्ने जनाएको छ । साथै, यसबाट फ्रान्स र इजिप्टबीच रणनीतिक तथा सैनिक साझेदारीलाई थप सुदृढ गर्ने मन्त्रालयको भनाई छ ।







डिसी नेपाल








Facebook Comment