दिनमा करिब तीन सय श्रमिक विदेश उड्छन्, बिहीबारदेखि ठप्प हुने

रिता बस्नेत
२२ वैशाख २०७८ ९:३७

काठमाडौं। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले हाल पनि वैदेशिक रोजगारका लागि दिनमा दुईदेखि तीन सयको हाराहारीमा श्रमिक विदेश उड्ने गरेको बताएका छन्। उनका अनुसार टिकट, भिसालगायत सबै तयार भइसकेका श्रमिकहरु बिहीबारसम्म विदेश उड्न पाउने छन्।

सरकारले बैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका धेरै श्रमिक पनि विदेश जान रोकिने भएका छन्।महानिर्देशक दवाडीका अनुसार हालसम्म विभागबाट अनलाइनमार्फत कामहरु भइराखेको छ। र, अब अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै वैदेशिक रोजगार पनि रोकिने उनले बताए।

बिहीबारसम्म जान चाहनेहरुका लागि हामीले काम गरिदिइराखेका छौं। अहिले दुई/तीन सयको हाराहारीमा विदेश उडिराखेकै छन्। श्रम स्वीकृति, टिकट दिइसकेकालाई समयभित्रै पठाउन त रोकिँदैन। आजसम्म अनलाइनबाट सेवा पनि दिइराखेका छौं, तर बिहीबारदेखि हवाई उडानहरु रोकिने भएका कारण अब हामीले पनि के गर्नु पर्ने हो त्यस विषयमा आज  निर्णय गर्छौं।

‘बिहीबारसम्म जान चाहनेहरुका लागि हामीले काम गरिदिइराखेका छौं। अहिले दुई/तीन सयको हाराहारीमा विदेश उडिराखेकै छन्। श्रम स्वीकृति, टिकट दिइसकेकालाई समयभित्रै पठाउन त रोकिँदैन’, महानिर्देशक दवाडीले भने, ‘आजसम्म अनलाइनबाट सेवा पनि दिइराखेका छौं, तर बिहीबारदेखि हवाई उडानहरु रोकिने भएका कारण अब हामीले पनि के गर्नु पर्ने हो त्यस विषयमा आज (बुधबार) निर्णय गर्छौं।’

साथै, उनले संसारमा फैलिएको कोरोना महामारी अवधिमा वैदेशिक रोजगारमा जाने श्रमिकहरुलाई सार्न मिल्नेसम्मको यात्रालाई पछाडि ढकेल्न अनुरोध समेत गरेका छन्।

उनले भने, ‘जब सामान्य अवस्था आउछ त्यसपछि वैदेशिक रोजगारमा जाने कुराहरु सोचौंला। किनभने सबभन्दा ठूलो ज्यान नै हो, त्यसैले ज्यानलाई संकटमा पारेर हिड्ने काम नगरिदिनु होला, सबैलाई अनुरोध छ।’

सरकारले यसअघि २०७६ चैत ११ गते लकडाउनले गर्दा पनि श्रमिकहरु विदेश जानबाट रोकिएका थिए। त्यसपछि २०७७ असारपछि मात्रै श्रमिकलाई विदेश जान श्रम स्वीकृति दिन थालिएको थियो। अहिले पनि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि विदामा आएका कतिपय श्रमिकहरु यतै रोकिने निश्चित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *