बिल–मेलिन्डा गेट्स दम्पतीको कति छ सम्पत्ति ? सम्बन्धविच्छेदपछि कसरी हुन्छ बाँडफाँड ?

डिसी नेपाल
२२ वैशाख २०७८ ९:४६

काठमाडौं। माइक्रोसफ्टका सहसंस्थापक तथा पूर्व सीइओ बिल गेट्स र उनकी पत्नी मेलिन्डा फ्रेन्च गेट्सले सोमबार आफूहरुले बिहेको २७ वर्षपछि सम्बन्धविच्छेद गर्न लागेको घोषणा गरेका छन् । ‘हाम्रो सम्बन्धका विषयमा धेरै विचार र काम गरेपछि हामीले आफ्नो वैवाहिक जीवन अन्त्य गर्ने निर्णय गरेका छौं’ यी दुईले ट्वीटरमा लेखेका छन् ‘हामीले ३ अद्भूत छोराछोरी हुर्काएका छौं र मानिसहरुलाई स्वस्थ र उत्पादनशील जीवनतर्फ लैजानको लागि सघाउन संसारभरी काम गर्ने संस्था स्थापना गरेका छौं ।’

बिल गेट्स संसारका शीर्ष धनी अर्बपतिहरुमध्येका एक हुन् । विश्वव्यापी उच्च नेटवर्थको अध्ययन गर्ने र तथ्यांक राख्ने कम्पनी वेल्थ एक्सले उनको सम्पत्ति १३४.१ अर्ब डलर भएको अनुमान गरेको छ । उनको सफलता माइक्रोसफ्टबाट सुरु भएको भए पनि अहिले भने माइक्रोसफ्टमा भएको उनको शेयर उनको कूल सम्पत्तिको १९.६ प्रतिशत मात्र हो । वेल्थएक्सले माइक्रोसफटमा उनको शेयरको मूल्य २६.१ बिलियन डलर भएको अनुमान गरेको छ । उनको सम्पत्तिको धेरै पैसा अहिले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनसँग जोडिएको छ तर कति रकम भन्ने अहिलेसम्म प्रस्ट खुलाइएको छैन ।

गेट्स दम्पतीले वारेन बफेटसँग मिलेर ‘गिभिङ प्लेज’ नामक संस्थाको पनि स्थापना गरेका छन् । यो संस्थाले अर्बपतिहरुलाई आफ्नो सम्पत्तिको आधाभन्दा धेरै हिस्सा परोपकारमा खर्च गर्न आग्रह गर्छ । यी संस्थाका कारण बिल र मेलिन्डाको सम्पत्तिको बाँडफाँड धेरै जटिल हुनसक्ने अनुमान गरिएको छ । अदालतमा पेस गरिएका दस्तावेजले उनीहरुले छुट्टिने सम्झौता गरेको देखाउँछ तर शर्तहरु सार्वजनिक गरिएका छैनन् । वेल्थ एक्सका अनुसार उनीहरुको सम्पत्ति रियल स्टेट, कार र कलाकृति, निजी होल्डिङ र साझा स्टक, परोपकार लगायतमा बाँडिएको छ ।

रियल स्टेट

वेल्थ एक्सका अनुसार गेट्ससँग कैयौं मिलियन डलर बराबरको रियलस्टेट पोर्टफोलियो छ । उनीहरुको रियलस्टेटको कूल मूल्य १६६ मिलियन डलर छ । यसमा वाशिङटनको मेडिनामा रहेको ६६ हजार वर्गफुटको लेकसाइड घर पनि छ । यसको मूल्य ६५ मिलियन डलर मानिएको छ । यसबाहेक फ्लोरिडाको वेलिङटनमा ५५ मिलियन डलर मूल्यको ३० एकड जमिन छ । क्यालिफोर्नियाको डेल मारमा २० मिलियन डलर मूल्यको र इण्डियन वेल्समा १ मिलियन डलरको अचल सम्पत्ति छ । बेलिजमा गेट्सको निजी टापु छ यसको मूल्य २५ मिलियन डलर अनुमान गरिएको छ ।

कार र कलाकृति

गेट्सको स्पोर्ट कारको कलेक्सन करिब ६ लाख ५० हजार डलरको छ । वेल्थ एक्सका अनुसार उनीसँग पोर्से ९११, जगुआर एक्सजे ६, पोर्से क्यारेरा क्याब्रियोलेट ९६४, १९८८ पोर्से कुप र फरारी ३४८ छ । उनीसँग १३० मिलियन डलर बराबरको कलाकृतिको कलेक्सन पनि छ जसमा लियोनार्दो दा भिन्ची एन्ड्रयु वेथ र विन्स्लो होमरका कलाकृति छन् ।

निजी होल्डिङ र साझा स्टक

गेट्सको सबैभन्दा ठूलो सम्पत्ति होल्डिङ कम्पनी क्यास्केड इन्भेस्टमेन्ट हो । उनले यो कम्पनी माइक्रोसफ्टको शेयर र लाभांश बिक्री गरेर आएको पैसाले स्थापना गरेका हुन् । क्यास्केड इन्भेस्टमेन्टमा उनको सम्पत्ति २९.९ अर्ब डलर भएको र यो उनको सम्पत्तिको २२.४ प्रतिशत हुने वेल्थ एक्सले जनाएको छ । क्यास्केड इन्भेस्टमेन्टमार्फत गेट्सले अरबौं डलर बराबरको शेयरमा लगानी गरेका छन् ।

यसरी गरिएको लगानीबाट उनको डिरे एण्ड कम्पनीमा ११.९ अर्ब डलर, क्यानडियन नेशनल रेलवेमा ११ अर्ब डलर, डियाजियोमा १.६ अर्ब डलर बराबरको सम्पत्ति छ । यसबाहेक पनि उनको अन्य कैयौं कम्पनीमा शेयर छ । बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन ट्रस्टसँग पनि क्यास्केड इन्भेस्टमेन्टमार्फत गरिएको लगानीबाट कैयौं कम्पनीको शेयर स्वामित्व रहेको बताइन्छ । यसबाहेक गेटससँग माइक्रोसफ्टको शेयर पनि छ जसको मूल्य २६.१ अर्ब डलर अनुमान गरिएको छ ।

परोपकार

पछिल्ला केही वर्षहरुमा गेट्स दम्पतीले आफ्नो बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई अरबौं डलर दिएका छन् । २०१९ को एक ब्लग पोस्टमा गेट्सले आफूहरुले २० अर्ब डलर बराबरको माइक्रोसफटको स्टक फाउन्डेसनलाई दिएको लेखेका थिए । आजसम्म आइपुग्दा फाउन्डेसनसँग ५१ अर्ब बराबरको सम्पत्ति भएको फउन्डेसनले तिरेको करका दस्तावेजको आधारमा सीएनबीसीले लेखेको थियो ।

अन्य

यसबाहेक गेट्सले यसअघि पाएको पारिश्रमिक, बोनस, लगानी, लाभांश तथा स्टक खरिदबिक्रीबाट आएको पैसा गरी उनीसँग १९ अर्ब डलर रहेको वेल्थ एक्सले अनुमान गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *