खोप नआउनुमा बिचौलिया कारक : ‘तागतवर भूतप्रेत’ को खुलासा

डिसी नेपाल
२३ वैशाख २०७८ ७:१०
416
Shares

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले फागुन दोस्रो साता नागरिकलाई दिएको अन्तर्वार्तामा समयमै खोप ल्याउन बाधा पुर्‍याउनेहरूबारे सांकेतिक खुलासा गरेका थिए। उनले कमिसन लोभका कारण खोप ल्याउन अवरोध गरेकाहरूलाई लक्षित गर्दै भनेका थिए, ‘यसबीच केही भूतप्रेत जागृत भए।’

यी भूतप्रेत को हुन्, मन्त्री त्रिपाठीले त्यति बेला नखुलाए पनि अहिले आएर खुलासा भएको छ। ती भूतप्रेत अरु कोही नभएर प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेर काम गर्दै आएका व्यापारी र कमिसन एजेन्टहरू हुन्। नेपालले सेरम इन्स्टिच्युटद्वारा उत्पादित अक्सफोर्ड अस्ट्राजेनेका खोप खरिद प्रक्रिया अघि बढाएको थियो। त्यसमा १० प्रतिशत कमिसन माग गर्दै खोप भित्रिन नदिइएको हो।

मन्त्री त्रिपाठीले त्यो बेला नै यी शक्तिशाली व्यक्तिहरूका कारण खोप आयातमा अवरोध भएको संकेत गरेका थिए। सेरमको स्थानीय एजेन्ट हुकुम इन्टरप्राइजेजका साझेदार विजय दुगड र ऋतुसिंह बैद्यले सरकारले खरिद गरिसकेको र भविष्यमा खरिद गर्ने खोपमा १० प्रतिशत कमिसन माग गर्दै आएको खुलेको छ।

सरकारले निजी क्षेत्रलाई खोप खरिद गर्न बाटो खुलाउँदै १० प्रतिशत कमिसन लिन पाउने व्यवस्था गरिसकेको छ। सरकार आफूले फ्याक्ट्रीबाट खरिद गरेको खोपमा कमिसन दिन तयार नभएपछि देशभित्रै र बाहिरका विभिन्न माध्यमसमेत प्रयोग गरी खोप आयातमा अवरोध गरिएको हो।

नेपालले सेरमसँग खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख पाए पनि बाँकी १० लाख डोज पाउन सकेको छैन। कमिसन एजेन्टहरूले फ्याक्ट्री नेतृत्वलाई समेत प्रभावमा पारेपछि पैसा बुझाइसकेको खोप पनि नेपालले नपाएको हो। पछिल्लो कालखण्डमा धेरैजसो भारतको मुम्बईमा बस्दै आएका दुगड सेरम इन्स्टिच्युटका प्रवद्र्धक अदर पुनावालाका छोराका साथी हुन्।

उनीहरूले सँगै पढेका हुन्। त्यही सम्बन्धलाई प्रयोग गर्दै हुकुम इन्टरप्राइजेज सेरमको एजेन्ट बन्न सफल भएको हो। त्यसैगरी हुकुमकी अर्की साझेदार ऋतुसिंह बैद्य एमाले निकट व्यापारी सुरज बैद्यकी पत्नी हुन्। प्रधानमन्त्री ओलीसँग निकट सम्बन्ध रहेका सुरज नेपाल भ्रमण वर्ष २०२० का संयोजकसमेत रहिसकेका छन्। यो समाचार नागरिक दैनिकमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *