आफ्नैबाट अप्ठ्यारोमा ओली र नेपाल

डिसी नेपाल
२३ वैशाख २०७८ ७:१८
320
Shares

काठमाडाैं। नेकपा एमालेको आन्तरिक विवादका कारण अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नैबाट अप्ठ्यारोमा परेका छन्।

जेठ २ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल समूहले हातेमालो गर्न खोजेपछि आगामी आमनिर्वाचनमा पनि यही समीकरण बने पार्टी धराशयी हुने ओली निकटका नेताहरूको चिन्ता छ। यही कारण उनीहरूले विवाद मिलाउन दबाब दिँदा ओली अप्ठ्यारोमा परेका हुन्।

त्यस्तै नेपाल पक्षभित्र सामूहिक राजीनामाभन्दा ओलीलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएर एकपटक हेर्ने, त्यति गर्दा पनि पार्टीभित्र बस्ने अवस्था बनेन भने मात्र राजीनामा दिने धारणा आएपछि नेपाल पनि अप्ठ्यारोमा परेका छन्। कांग्रेस, माओवादी केन्द्र, नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले बुधबार राष्ट्रियसभा सदस्यका लागि साझा उम्मेदवारका रुपमा वाग्मती प्रदेशबाट डा. खिमलाल देवकोटालाई अघि सारेका छन्।

उनीहरूले यो गठबन्धन आगामी निर्वाचनमा पनि कायमै राख्ने संकेत गरेपछि ओली दबाबमा परेका छन्। देशभरका नेता–कार्यकर्ताले ओलीलाई पार्टी मिलाउन दबाब दिइरहेका छन्। उनीहरूले एमालेकै एउटा पंक्तिलाई बाहिर राखेर अन्त मत माग्न जानु शोभनीय नहुने सन्देश ओलीलाई दिएका छन्। ‘अहिले एमालेको एउटा पंक्ति बाहिर छ।

यो पंक्ति बाहिर रहँदा प्रतिपक्षीले खेल्ने मौका पाएको हामीले बुझेका छौं। साथै कांग्रेस, एमालेको नेपाल पक्ष, माओवादी केन्द्र र जसपाको संयुक्त गठबन्धन आगामी निर्वाचनसम्म कायम रहे त्यसले राष्ट्रिय राजनीतिमा ओली पक्षको उपस्थिति न्यून बनाउने भएकाले पनि पार्टीलाई एक ढिक्का बनाउनुको विकल्प छैन भनेर हामीले भनेका छौं’, ओली निकटका एक नेताले भने। ओलीलाई उनीनिकट नेता प्रदीप ज्ञवाली र विशाल भट्टराईले पार्टीलाई मिलाएर लैजान आग्रह गरेको स्रोतको भनाई छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *