पूर्वी अफगानिस्तानमा तालिवान लडाकूको आक्रमणमा ११ सुरक्षाकर्मीको मृत्यु

डिसी नेपाल
२३ वैशाख २०७८ १९:२१

काबुल । पूर्वी अफगानिस्तानमा आतंकवादीहरूको हमलामा अफगान सुरक्षा बलका कम्तिमा ११ सदस्यहरू मारिएका अधिकारीहरूले बिहीबार बताएका छन् ।

गजानी प्रान्तको ख्वाजा ओमारी जिल्लामा तालिवान विद्रोहीहरूले तीन सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगानिस्तानका चार प्रहरी र दुई राष्ट्रिय गुप्तचर अधिकारीको मृत्यु भएको जिल्ला प्रमुख अहमद जिया याकोबीले सिन्ह्वासँग बताए । उक्त झडपमा चार तालिबानी विद्रोही पनि मारिएका उनले बताए ।

छिमेकी लोगर राज्यको प्रान्तीय राजधानी पुल–ए–आलमको क्षेत्रीय प्रहरी कार्यालय नजिक सशस्त्र लडाकूहरूले उनीहरूको सुरक्षा चौकीमा आक्रमण गरेपछि सुरक्षा अधिकारीको मृत्यु भएको टोलो न्यूज नामक स्थानीय टेलीभिजनले समाचारमा उल्लेख गरेको छ ।

यसबाहेक, बिहीबार बिहान उत्तरी कज्दूद प्रान्तको राजधानी, कुन्दूज शहरमा भएको बम आक्रमणमा चार सर्वसाधारण घाइते भएका छन् भने केही गाडी तथा भौतिक संरचनामा समेत क्षति भएको छ ।

संयुक्त राज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सेनाले देश छोडेर जाने क्रममा युद्धले घेरिएको अफगानिस्तानमा हिंसा फैलिएको छ।

अमेरिकाले आफ्नो सेनालाई मे १ मा फिर्ता गर्ने भनेपनि तोकिएको समयमा उक्त कार्य नहुँदा तालिवान लडाकू समूहले अफगानिस्तानका विभिन्न स्थानमा आक्रमणलाई तीब्र बनाएको छ ।

अमेरिकी ट्रम्प प्रशासनले तालिवान समूहसँग मे १ मा आफ्नो सेना फिर्ता गर्ने बताए पनि वर्तमान् राष्ट्रपतिले सेना फिर्ता गर्ने काम सेप्टेम्बर ११ सम्ममा पूरा गर्नेगरी तयारी गरिएको बताएका छन् । अफगानिस्तानमा तीन हजार ५०० अमेरिकी तथा सात हजार नेटो सैनिक तैनाद गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *