आफू संक्रमित भएको जान्दाजान्दै बिहेमा गए युवक, ३० जना संक्रमित भएपछि पूरै गाउँ सिल

डिसी नेपाल
२४ वैशाख २०७८ १३:५०

काठमाडौं। कोरोनाभाइरसको दोस्रो लहरले अहिले ठूलो त्रासको वातावरण सृजना गरेको छ । नयाँ संक्रमितको दैनिक रुपमा बढ्दो संख्याले नेपालमात्र होइन छिमेकी देश भारत समेत अत्यन्तै दयनीय हालतमा पुगेको छ । यही बीच भारतमा एउटा बिहेमा आएका एक जना संक्रमितले अन्य ३० जनालाई संक्रमण सारेपछि अहिले पूरै गाउँ सिल गरिएको छ । मध्य प्रदेशको निवाडीमा ती एक जना संक्रमितको लापरवाहीले अहिले पूरै गाउँले दुःख पाएको छ ।

निवाडी जिल्लाको लुहारगुवा गाउँका ती युवकले आफ्नो रिपोर्ट पोजेटिभ आएको ८ दिनसम्म यसबारे सबैसँग जानकारी लुकाए । यस बीचमा उनी गाउँमा भएको बिहेमा समेत सहभागी भए र पूरै गाउँ घुमिरहे । यी युवकका कारण तीन दर्जनभन्दा धेरै मानिसहरु कोरोनाभाइरस संक्रमित भएका छन् र कैयौंको हालत गम्भीर भएको बताइएको छ । यसबारे जिल्ला प्रशासनले थाहा पाएपछि पूरै गाउँलाई रेड जोन घोषित गरेर सिल गरिएको छ ।

न्यूज ट्रयाकका अनुसार अहिले गाउँबाट बाहिर निस्किन र गाउँ प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । पुलिसले गाउँ प्रवेश गर्ने बाटोमा पहरा दिइरहेको छ । डाक्टरहरु घरघरमा गएर जाँच गरिरहेका छन् । संक्रमण फैलाउने युवकसहित चुपचाप बिहे गराउने तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । ती युवकको रिपोर्ट २७ अप्रिलका दिन पोजेटिभ आएको थियो । तर उनले यसबारे कसैलाई नभनी गाउँमा मजाले घुमिरहे । रिपोर्ट पोजेटिभ आएको २ दिनपछि २९ अप्रिलमा उनले गाउँमा भएको विवाहमा खाना पस्किएर धेरैलाई बाँडे ।

त्यसको भोलिपल्ट उनी अर्को एक बिहेमा पनि सहभागी भए र जन्ती समेत गए । त्यहाँ मजाले नाचेपछि वरमाला कार्यक्रममा स्टेजमा गएर फोटो पनि खिचाए । बिहेबाट फर्केपछि पनि उनी गाउँमा घुमिरहे । उनको यो लापरवाहीपनि जब गाउँलेहरु धमाधम बिरामी हुन थाले त्यसपछि जाँच गराउनेको लाइन लाग्यो । बुधबारसम्म ६० जनाको परीक्षण गरिँदा ३० जना संक्रमित पाइएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *