ललितपुरमा माधव समूहको भेलाः जसरी पनि ओलीलाई सत्ताबाट हटाउने निष्कर्ष

खेमराज थापा
२५ वैशाख २०७८ २१:३६

काठमाडौं। सत्तारुढ दल नेकपामा समानान्तर गतिविधी गरिरहेको माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा नसघाउने लगभग पक्का भएको छ। विगत तीन दिनदेखी अध्यक्ष ओली समूह र माधव समूहका नेताहरुबीच भएका सघन छलफल सकरात्मक नभएपछि माधव समूहले सोमबार प्रतिनिधिसभामा हुने मतदानमा असहयोग गर्ने भएको हो।

२७ गतेको रणनीति बनाउन शनिबार बेलुकासम्म ललितपुरमा माधव समूहका सांसदहरुको भेला भएको छ। सो भेलामा सहभागी एक नेताले डिसी नेपालसँग भने, ‘हाम्रो निष्कर्ष जसरी पनि ओलीलाई सत्ताबाट हटाउनुपर्छ भन्ने रह्यो।’ उनका अनुसार शनिबारको बेलामा ओली समूहका नेताहरुसँग वार्ता गरेका नेताहरुले सो विषयमा ब्रिफिङ गरेका थिए। उनीहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूहरुलाई भुल्याउने रणनीतिअनुसार वार्ता गरेको भेलामा ब्रिफिङ गरेका छन्।

एक्लाएक्लै नेताहरुलाई भेटेर प्रधानमन्त्री ओलीले मन्त्रीको लोभसमेत देखाएको भेलामा उनीहरुले ब्रिफिङ गरेको एकजना सांसदले डिसी नेपाललाई बताए।

बुधबार र बिहीबार योगेश भट्टराई, धनश्याम भुसाल र गोकर्णराज विष्टले प्रधानमन्त्री ओलीसँग वार्ता गरेका थिए। उनीहरुले वार्ताबारे शनिबार भेलामा ब्रिफिङ गरेका हुन्। सो ब्रिफिङपति ओलीलाई जसरी भए पनि सत्ताबाट हटाउने निष्कर्ष निकालिएको ती सांसदले बताए। तर, २७ गते के गर्ने भन्ने अन्तिम निर्णय भने भइनसकेको उनले बताए। उनले भने, ‘जसपाले के गर्छ ? सोहीअनुसार हामीले निर्णय लिन्छौं। जसपाले प्रधानमन्त्रीलाई सहयोग गर्ने अवस्था आए हामीले राजीनामा वा फ्लोर क्रस गर्न सक्छौं।’ उनले राजीनामा दिनुपर्ने भए आवश्यकता अनुसार कतिजनाले दिने भन्ने विषयमासमेत छलफल भएको बताए।

पार्टी भित्रै किचलो जारी रहेका बेला प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। एमालेका १२१ सांसद मध्ये ३० जनालाई ओलीले स्पष्टीकरण सोधेकाले उनीहरु माधव समूहमा रहेको स्पष्ट हुन्छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र माओवादी केन्द्रले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्। जसपाले भने हालसम्म कुनै निर्णय गरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *