विद्युत् अनियमित हुँदा दुई दिनदेखि पिसिआर मेसिन बन्द

डिसी नेपाल
२६ वैशाख २०७८ ९:१७
120
Shares

सर्लाही । सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पिसिआर मेसिन विद्युत् अनियमित हुँदा दुई दिनदेखि बन्द रहेको छ। जिल्लामा विद्युत् अनियमित हुँदा पिसिआर मेसिन बन्द भएको हो।

ल्याबमा बुधबार राति ९४ जनाको थ्रोट स्वाब जाँच गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो। त्यसपछि बिहीबार, शुुक्रबार र शनिबार दिनभर छिनछिनमै बत्ती गइरहने समस्याले मेसिन चलाउनै नसकिएको जिल्ला अस्पताल सर्लाहीका जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले बताए।

उनले मेसिन सञ्चालन नभए पनि शुक्रबार ३० जनाको थ्रोट स्वाब सङ्कलन भएको बताए। बुधबार, बिहीबार र शुक्रबारको केही स्वाबको रिपोर्ट आउन बाँकी रहेको थियो भने शनिबारको स्वाब सबैको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ। यता शनिबार सार्वजनिक बिदा परेकाले आज मात्रै रिपोर्ट आउन सक्ने जनस्वास्थ्य निरीक्षक साहले बताए।

अस्पतालमा जेनेरेटर र अन्य वैकल्पिक ऊर्जाको व्यवस्था नहुँदा ल्याबमा खटिएका कर्मचारी समस्यामा परेका छन्। जिल्ला अस्पतालमा वैशाख १७ गतेदेखि ल्याब सञ्चालन भएयत शनिबारसम्म ३९० जनाको स्वाब सङ्कलन भएको छ। सर्लाहीमा शुक्रबार बिहानसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २४३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीका बलिराम यादवले जानकारी दिए भने चार जनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको यादवले बताए।

शुक्रबार र शनिबार स्वाब सङ्कलन गरिएका सबै स्वाबको रिपोर्ट आज मात्र आउने जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ। एकपटक पिसिआर मेसिन चलाउन ९४ देखि ९६ जनाको थ्रोट स्वाब जम्मा हुनुपर्ने हुन्छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *