यसकारण जसपा सरकारमा सहभागी नहुने

डिसी नेपाल
१ जेठ २०७८ ७:०५
448
Shares

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा ओलीले ‘सरकारमा सहभागी हुन’ प्रस्ताव ठाकुर र महतोलाई गरेका हुन् । सरकारले आफ्ना ‘केही माग पूरा गरेको तर अझ धेरै पूरा गर्न बाँकी रहेकाले मुद्दा सम्बोधनपछि मात्रै सरकारमा सहभागी हुने’ आश्वासन जसपा नेताले दिएका छन् ।

जसपा कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले आफूहरू अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने बताए । ओलीबाट प्रस्ताव आएको स्वीकार गर्दै उनले अहिलेकै अवस्थामा सहभागी नहुने प्रस्ट पारे ।

‘सरकारमा आउनुस्, मिलेरै अगाडि बढौं भन्ने उहाँको प्रस्ताव छ,’ कर्णले राजधानीसँग भने, ‘तर, हामी अहिलेकै अवस्थामा सरकारमा सहभागी हुन सक्दैनौं भनेर जवाफ दिएका छौं ।’

संविधान संशोधन, मधेस आन्दोलन क्रममा लगाइएका झुठा मुद्दा फिर्ता, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतालगायत मुद्दा जसपाले उठाउँदै आएको छ । केही समयअघि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोकै आग्रहमा प्रधानमन्त्रीले केही मुद्दा फिर्ता लिइसकेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *