२०० बेडको आइसोलेशन सेन्टर बनाउँदै महानगर, १२ अस्पतालसँग सम्झौता

डिसी नेपाल
१ जेठ २०७८ १६:२६
192
Shares

काठमाडौँ। कोभिड १९ का संक्रमित विरामीलाई सहज उपचार सेवाका लागि काठमाडौंँ महानगरले विभिन्न १२ वटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ।

शुक्रबार विभिन्न ७ वटा अस्पतालसँग सम्झौता गरेको महानगरले शनिबार थप तीन अस्पतालसँग सम्झौता गरेको हो। शनिबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नेपाल कोरिया मैत्रीअस्पतालसँग सम्झौता गरिएको हो। शुक्रबार ७ वटासँग, बैशाख २४ गते एउटा र २७ गते एउटा गरी अहिलेसम्म १२ वटा सरकारी र सामुदायिक अस्पतालसँग सम्झौता महानगरले सम्झौता गरेको हो।

यसरी भएका सम्झौताअनुसार महानगरको लगानीमा सामाखुशीमा रहेको राधा स्वामी सत्संग ब्यासको भवनमा महानगरपालिकाको अक्सिजन सहितको २ सय वेडको आइसोलेशन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ वेडको कोभिड अस्पताल सञ्चालन हुनेछ।

त्यसै गरी विभिन्न अस्पतालहरुले ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० थान वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप), १० हजार थान अट्राक्सन किटसहित उपकरण प्राप्त गर्नेछन्। यसैगरी स्टाफ अब्जर्वेसन, भौतिक संरचना मर्मत सम्भार र व्यवस्थापनका लागि आर्थिक अनुदान प्राप्त गर्नेछन्।

शनिबार सम्झौता भएका अस्पतालहरु मध्ये सहिद गंगालाललाई ५ थान भेन्टिलेटर, शुक्रराज ट्रपिकल अस्पताललाई १० वेडको स्टाफ अव्जर्वेसन कक्ष स्थापनाका लागि करिब ११ लाख रुपैयाँ नगद र १० हजार थान अट्राक्टस किट खरिद गर्दाको बिलबमोजिम भुक्तानी गर्नुपर्ने रकम बराबर अनुदान सहयोग हुनेछ।

‘कोभिडको उपचारलाई प्रभावकारी बनाउने र संक्रमणको दर घटाउने दुवै कामलाई समान प्राथमिकता दिएर काम गर्नुपर्ने अवस्था छ। हाम्रो चाहना भेन्टिलेटर खरिद गर्नुभन्दा संक्रमण घटाएर स्वच्छ समाज निर्माण गर्नु हो। तर, महामारी फैलियो। अबको आवश्यकता भनेको अस्पतालमा भार घटाउनु नै हो’, मेयर विद्यासुन्दर शाक्यले भने।

उनले थपे, ‘महामारीको जोखिम घटाउन सरकार, अस्पताल र नागरिक सबैको समान दायित्व छ। सबैले आफ्ना—आफ्ना दायित्व पूरा गर्ने हो भने खतरालाई चाँडै नियन्त्रणमा लिन सकिन्छ।’ उनले स्वास्थ्यकर्मीले अहिले गरेको काम अतुलनीय भएको बताए। स्वास्थ्यकर्मीको हौसला बढाउनु अहिलेको अर्को मुख्य जिम्मेवारी रहेको शाक्यको भनाइ थियो।

त्यस क्रममा मध्यपुर थिमी नगरका प्रमुख मदनसुन्दर श्रेष्ठले, महानगरले अस्तालहरुलाई गरेको सहयोग अनुकरणीय रहेको उल्लेख गरे। ‘भनेजस्तो गरेर अहिले ठूला अस्पताल बनाउन र सञ्चालन गर्न सजिलो छैन। यसबेला सजिला सर्त राखेर महानगरले अस्पतालको क्षमता बढाउन अनुदान उपलब्ध गराएको छ। यसबाट महानगरको अभिभावकीय भूमिका अझ बढेको छ।’

उनले मध्यपुर थिमी नगरले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको क्षमता बढाउन महानगरले उपलब्ध गराएको सहयोगबाट अन्तरनगर सम्बन्ध अझ प्रगाढ भएको उल्लेख गरे।

‘काठमाडौँ महानगरले स्थापना गरिदिएको अक्सिजन प्लान्टका कारण अहिले गंगालाल अस्पतालले अक्सिजन खोज्न हिँड्नु परेको छैन। अहिलेको यो विषम परिस्थितिमा अस्पताललाई अक्सिजन खोज्नु जानु नपर्ने बनाउनु महानगरको सहयोग वास्तवमै अनुकरणीय छ,’ गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले भने, ‘अब भेन्टिलेटर प्राप्त हुने भएको छ। यसको प्रयोगले अहिले कोविड भएका विरामी र पछि मुटुको शल्यक्रिया गरेका विरामीलाई जीवन रक्षा गरिनेछ।’

उनकाअनुसार अस्पतालले यसअघि विरामीलाई अक्सिजन र भेन्टिलेटरको अतिरिक्त शुल्क लिएको छैन। अब पनि लिने योजना छैन।

‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको समस्या अरुभन्दा भिन्न छ। अन्यत्र कतै पनि भर्ना नपाएका विरामी हामीकहाँ आउनुहुन्छ। ठाउँ नहुँदा हामीलाई बेड चाहिँदैन। बाहिरै भए पनि अलिकति अक्सिजन सुँघ्न पाए हुन्छ भन्नुहुन्छ’, अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारी भन्छन्, ‘विकास समिति अन्तर्गत चलेको यो अस्पतालका केही कर्मचारीहरुको सेवा कसरी उपलब्ध गराउने अस्पताललाई यो चिन्ता छ। नियमित आय छैन। अहिले महानगरबाट सहयोग पाए पछि आशा बढेको छ। हौसला मिलेको छ। यसप्रकारको सहयोग निरन्तर हुन्छ भन्ने अपेक्षा पनि छ।’

महानगरले यसअघि बैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई २५ गते १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ। त्यस्तै बैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन सम्झौता भइसकेको छ।

बैशाख २८ गते महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर बढ्दो कोभिडको संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो। यसपछि अस्पतालहरुले आफ्नो क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनका लागि सहयोग सम्बन्धी माग गरेका थिए। अस्पतालहरुको मागअनुसार सम्झौता गरिएको हो।

यसअनुसार बैशाख ३१ गते वीरेन्द्र सैनिक अस्पताल, छत्रपाटी निःशुल्क चिकित्सालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, र जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौँ मोडल अस्पतालसँग सहयोग सम्झौता गरेको थियो।

महानगरका प्रमुख शाक्यको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले र अस्पतालकातर्फबाट सम्बन्धित अस्पतालका अधिकारीहरुले हस्ताक्षर गरेका थिए। त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु सहभागी थिए।

महानगरले अनुदान दिएका अस्पतालहरुले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनुपर्छ। यस्तै खर्च र लेखा परीक्षण प्रचलित कानुनले दिएको अधिकारबमोजिम गर्नुपर्छ। लेखा परीक्षणको प्रतिवेदन महानगरलाई पनि बुझाउनु पर्छ। यसै गरी महानगरको सहयोगमा खरिद गरिएका उपकरणमा ‘काठमाडौँ महानगरको सहयोगमा’ लेख्नुपर्नेछ। परिस्थिति र आवश्यकताका आधारमा सम्झौता थप गरेर साझेदारिता निरन्तर हुन सक्ने सम्झौतामा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.