इजरायलले पत्रकार र मिडियालाई दुरुपयोग गरेर फैलाएको जालमा हमास फसेको हो ?
काठमाडौं। जेरुसेलमको अल अक्सा मस्जिदमा भएको झडपपछि अहिले इजरायल र प्यालेस्टाइनबीच संघर्ष चलिरहेको छ । प्यालेस्टाइनको सशस्त्र चरमपन्ती गुट हमासको रकेट आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा एयरस्ट्राइक गरिरहेको छ । शुक्रबार आधा रातमा इजरायली सेनाले हमासविरुद्ध आफ्नो अपरेशनमा १६० लडाकु विमानबाट ४० मिनेटसम्म बम वर्षा गर्यो । यो आक्रमणका इजरायली सेनाले हमासले इजरायली एयरस्ट्राइक र सर्भिलान्सबाट बच्न प्रयोग गर्ने सुरुङको एक नेटवर्कलाई ध्वस्त पारिदियो ।
यसरी हमासका लडाकूलाई मार्नको लागि इजरायलको सेनाले मिडिया र पत्रकारको दुरुपयोग गरेर जाल बिच्छ्याएको र त्यसमा हमासका लडाकू परेको आरोप लागेको छ । इजरायलका पत्रकारहरुले सेनाले आफूहरुलाई प्रयोग गरेर हमासलाई आफ्नो जालमा फसाएर दर्जनौं हमास लडाकुको हत्या गरेको बताएका छन् । समाचार एजेन्सी एपीको रिपोर्टअनुसार शुक्रबार इजरायली सेनाले मिडियाको लागि बयान जारी गर्दै इजरायली हवाइ सेना र स्थल सेनाले गाजा पट्टीमा आक्रमण गरेको बताएको थियो । जबकि वास्तविकतामा त्यतिबेलासम्म स्थल सेनाले आक्रमण गरेको थिएन ।
इजरायली सेनाको यो बयान मिडियामा आयो । यससँगै यो खबर फैलियो कि इजरायलको स्थल सेनाले पनि आक्रमण गरिसकेको छ । सेनाको बयानलगत्तै प्रकाशित केही मिडिया रिपोर्टमा त आक्रमण सुरु भइसकेको भनिएको थियो । तर, यो रिपोर्ट जारी गरेको केही घण्टापछि इजरायलको सेनाले स्पष्टीकरण जारी गर्दै गाजाभित्र कुनै पनि इजरायली सेना नभएको बतायो । तर, त्यतिबेलासम्म केही घण्टा अगाडि सेनाले जारी गरेको बयानका आधारमा कैयौं मिडिया संस्थानले इजरायली सेनाले गाजामा आक्रमण गरेको समाचार सार्वजनिक गरिसकेका थिए ।
थुप्रै मिडिया संस्थानबाट गाजामा इजरायली सेनाले आक्रमण गरेको समाचार आएपछि हमासका लडाकुहरु गाजामा मेट्रो भनेर चिनिने सुरुङको भूमिगत नेटवर्कमा रक्षात्मक अवस्थामा गए । जब हमासका लडाकुहरु सुरुङभित्र गए इजरायलको हवाइ सेनाले तिर्न सुरुङमा बम वर्षा गर्यो । इजरायली सेनाका अनुसार उसले १६० लडाकु विमानबाट ४० मिनेटसम्म बम खसाएको थियो । इजरायलको च्यानल १३ का पत्रकार ओर हेलरका अनुसार यसरी भएको बम वर्षामा दर्जनौं लडाकुहरु जालमा फसेर मरेको हुनुपर्छ ।
सेनाले भने यसलाई बुझाइमा स्पष्ट नभइ गरिएको रिपोर्टिङ भनेको छ । तर, इजरायली पत्रकारहरुले भने सेनाले हमासका लडाकूहरुलाई खतरनाक जालमा फसाउनको लागि मिडियाको प्रयोग गरिएको बताएका छन् । पत्रकार हेलरले भने ‘उनीहरुले झुट बोलेनन् तर यो छल थियो । उनीहरुले चतुर्याइँ गरे र यो सफल भयो ।’ यसअघि बिहीबार इजरायलले गाजाको सीमामा स्थल सेना र ट्यांक तैनाथ गरेको रिपोर्ट आएको थियो । इजरायलका हजारौं सैनिक सीमामा तैनाथ गरिएको बताइएको थियो र जमिनबाट कारवाही हुन सक्ने आशंका गरिएको थियो ।
आफ्नो खतरनाक जाललाई अझ बलियो बनाउन इजरायली सेनाका ट्यांकले गाजातर्फ गोला समेत हाने । पत्रकार हेलरका अनुसार बिहीबार अबेर राती इजरायलले आफ्नो सैन्य गतिविधि यसरी बढायो कि उसले अहिले जै गाजामा जमिनबाट समेत आक्रमण गर्छ जस्तो देखियो । इजरायली सेनाले आक्रमणको अन्तिम तयारी गरिरहेको जस्तो लागेको थियो । यसलगत्तै इजरायलले मिडियालाई गाजामा आक्रमण गरिएको सूचना दियो । ट्वीटरमा हिब्रु र अरबी भाषामा एकसाथ बयान जारी गरियो । यसको परिणामस्वरुप कैयौं ठूला मिडियामा आक्रमणको सूचना प्रवाहित भयो ।
हेलर र अन्य इजरायली रिपोर्टका अनुसार हमास इजरायली चालमा फस्यो र उसका लडाकुहरु मेटेको रुपमा चिनिने सुरुङको भूमिगत नेटवर्कभित्र गए । यही क्रममा इजरायलले १६० लडाु विमानबाट यी सुरुङहरुमा ४० मिनेटसम्म बक वर्षायो । हेलरले भने ‘शुक्रबार हामीले जे देख्यौं त्यो निकै परिष्कृत अपरेशन थियो जसको मिडिया एक पक्ष थियो । हमासको तर्फबाट यस विषयमा कुनै टिप्पणी आएको छैन । हेलरका अनुसार सेनासँग घनिष्ठ सम्बन्ध भएका बरिष्ठ इजरायली पत्रकारहरुलाई इजरायलले जमिनमा आक्रमण नगरेको जानकारी थियो तर इजरायलले अन्तर्राष्ट्रिय मिडियालाई अल्मल्यायो र आफ्नो फाइदाको लागि प्रयोग गर्यो ।







डिसी नेपाल








Facebook Comment