अवैधरूपमा विक्रिवितरण भइरहेकाे धानको बीउ बरामद

डिसी नेपाल
८ जेठ २०७८ १२:११

नवलपुर । सरकारले अनुमति नै नदिएको धानको बीउ जिल्लाका विभिन्न एग्रोभेटमा बिक्री वितरण भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को संयोजनमा कृषि ज्ञान केन्द्रले गरेको अनुगमनका क्रममा देवचुली नगरपालिकास्थित रजहरमा अवैध धानको बीउ बिक्री वितरण भएको पाइएको हो।

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत मीरा चौधरीले रजहरको चौधरी एग्रो सेन्टर र मगल भेट फर्माबाट अवैध रुपमा बिक्री भइरहेको ३२० किलो धानको बीउ बरामद गरिएको बताए। चौधरीका अनुसार अनुगमन टोलीले ती पसलबाट बिपिटी ५२०४ जातको धानको बीउ ८० किलो र सुपर सोना काभेरी जातको धानको बीउ २४० किलो बरामद गरेको छ।

सरकारले अनुमति नै नदिएको धानको बीउ बिक्री गर्ने एग्रोभेटलाई आफूहरुले सचेत बनाएर छोडेर चौधरीले बताए। कृषकले धानको बीउ राख्ने समय भएको र गत वर्ष किसान ठगिएका कारण यस पटक त्यस्तो हुन नदिन र कालोबजारी रोक्न अनुगमन गरिएको बाली संरक्षण अधिकृत चौधरीले जानकारी दिए। जिल्लाका तीनवटा कृषि सहकारीले बीउ परीक्षण गरेर आधिकारिक रुपमा किसानलाई उपलब्ध गराइरहेका भन्दै चौधरीले सोही स्थानबाट खरीद गर्न किसानलाई आग्रह गरेका छन्।

अनुगमनका क्रममा अधिकांश एग्रोभेटले बिक्री गर्ने विषादी र कुखुराका दाना तथा औषधि एकै ठाउँमा राख्ने गरेको, विषादी बिक्री वितरणको अनुमतिपत्र नवीकरण नगरेको, म्याद सकिएका विषादी तथा सामग्री राख्ने छुट्टै ठाउँ नबनाएको भेटिएको चौधरीले बताए। कृषि ज्ञान केन्द्रले तीनवटा टोली बनाएर जिल्लाका एग्रोभेट र भेटेरिनरी पसलमा अनुगमन गरेको थियो । बाली संरक्षण अधिकृत चौधरीले सरकारले प्रतिबन्ध लगाएका धानको बीउ नकिन्न र जिल्लामा बिक्री भएको थाहा पाए आफूहरुलाई जानकारी गराउन आग्रह गरेका छन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *