अमेरिकाबाट नेपाललाई खोप उपलब्ध गराउन दुतावास प्रयत्नशील छ : राजदूत डा. खतिवडा

डिसी नेपाल
९ जेठ २०७८ २:५४

वासिंगटन डिसी । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी सरकारसंग कोभिडको खोप नेपाललाई उपलब्ध गराउन दूतावास प्रयत्नशील रहेको बताएका छन्।

उनले नेपाललाई तत्काल चाहिने ५० लाख खोप उपलब्ध गराउन अमेरिका लगायत विश्व समुदायसँग नेपालले आग्रह गरेको पनि बताए। नेपालीहरुको नेतृत्वमा रहेका दुई अमेरिकी संस्थाहरु ब्लड डोनर्स अफ अमेरिका(बीडीए) र सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान) को तेस्रो संयुक्त सम्मेलनको भर्चुअल माध्यमबाट आज उद्घाटन गर्दै उनले नेपालको गम्भीर स्वास्थ्य संकटको अवस्थामा विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोगका लागि अमेरिकी सरकारसंग आग्रह गरिएको पनि उनले बताएका छन्।

उनले अमेरिकी सरकार, यहाँका गैरसरकारी संघ संस्थाहरु र नेपाली समुदायसहित विश्व समुदायलाई समेत नेपालको स्वास्थ्य संकटमा सहयोगका लागि आह्वान गरिएको बताए ।


अमेरिकास्थित नेपाली दुतावास नेपाललाई सहयोग गर्न प्रयत्नरत सबैसँग मिलेर काम गरिरहेको र अन्य इच्छुक संघ संस्थासंग पनि सहकार्य गर्न इच्छुक रहेको बताउँदै अमेरिकी सहयोग नियोग युएसयुएआईडीले नेपाललाई उपलब्ध गराएको सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा बीडीएका अध्यक्ष डा.लीलाराज दाहालले नेपालका लागि खोप र मेडिकल सामग्री तत्काल आवश्यक रहेको बताउँदै विकसित देशले विकाशील देशका लागि सहयोग गर्नुपर्ने भएकाले अमेरिकालगायतका विकशित देशहरुबाट नेपाललाई सहयोगका लागि आह्वान पनि गरे।

उनले बीडीएमार्फत हालसम्म १० हजार पिन्ट रगत दान भइसकेको तथ्यांक प्रस्तुत गर्दै एक पिन्ट रगतले ३ जनाको जीवन बच्ने भएकाले हालसम्म कम्तिमा ३० हजार मानिसको जीबन बचाउन सफल भएकोमा बीडीएको नेतृत्वकर्ताको हिसावले गौरव अनुभूति भएको बताएका थिए।

उद्घाटन समारोहमा सानकी अध्यक्ष मञ्जु संग्रौलाले यो महामारीको समयमा ५० भन्दा बढी वेभिनार गरी ५ हजारभन्दा बढी नर्स र अन्य स्वास्थ्यकर्मीहरुसंग अन्तक्र्रिय गर्न सफल भएको बताइन्।

उनले महामारीको अत्यासलाग्दो अवस्थामा स्वस्थ्यकर्मीको मनोबल बढाउन सानले उल्लेखनीय भूमिका खेलेको जानकारी कार्यक्रममा दिएकी थिइन् ।


भुषण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा मेरिल्याण्ड राज्यका विधानसभा सदस्य ह्यारी भण्डारी,एनआरएनए, अमेरिकाका अध्यक्ष सुनील साह,एएनए अध्यक्ष विजयराज भट्टराई, डा.संजीव सापकोटा, डा. सन्तोष सापकोटा, राधा पौडेल, सानुवाबु प्रजापति, विनय अर्याल, सीपीए हरि शर्मा,अजय सत्याल, मनकुमारी राई जष्टिन लिष्ट्रट र जोन सेफर्डलगायतका बक्तहरुले बीडीए र सानको संयुक्त सम्मेलनको सफलताको कामना गरेका थिए।

कार्यक्रममा रक्तदानमा उल्लेखनीय रेकर्ड कायम गरी रक्तदानलाई उत्प्रेरित गर्ने जोन सेफर्डसम्बन्धी एउटा डकुमेण्ट्रीसमेत देखाइएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *