राजकुमारी डायनाको विवादित अन्तरवार्ता लिने पत्रकारले २६ वर्षपछि छोराहरुसँग माफी मागे

डिसी नेपाल
१० जेठ २०७८ १०:३४
1.2k
Shares

काठमाडौं। बीबीसीका पूर्व पत्रकार मार्टिन बशीरले १९९५ मा राजकुमारी डायनाको अन्तरवार्ताको विषयमा भएको विवादको विषयमा अहिले माफी मागेका छन् । बीबीसीले पनि यो विषयलाई लिएर खेद व्यक्त गरिसकेको छ । बशीरले हालै एक अन्तरवाताृमा भने ‘मेरो उद्देश्य राजकुमारी डायनालाई नोक्सानी पुर्याउनु थिएन र यसबाट डायनालाई कुनै नोक्सानी पनि भएन । यसका बावजुद म राजकुमार विलियम र राजकुमार ह्यारीसँग माफी माग्छुृ ।’

विवाद के हो ?

घटना १९९५ को हो । त्यतिबेला राजकुमारी डायना र शाही परिवारबीच केही मनमुटाव भएको खबर बाहिरिएको थियो । यही समयमा बीबीसीका पत्रकार मार्टिन बशीरले डायनाका भाइको माध्यमबाट उनलाई एक अन्तरवार्ताको लागि राजी गरेका थिए । यो अन्तरवार्ताका लागि डायनालाई राजी गराउन मार्टिन बशीरले डायनाका भाइ अर्ल स्पेन्सरलाई केही लोभ दिएको आरोप छ । डायना निकै प्रसिद्ध हस्ती थिइन् । १९९७ मा फ्रान्सको पेरिसमा एक कार दुर्घटनामा उनको निधन भएको थियो । त्यतिबेला उनी ३७ वर्षकी थिइन् ।

यो अन्तरवार्तामा डायनाले इशारामा केही यस्ता कुराहरु भनेकी थिइन् जसबाट शाही परिवार खुसी थिएन । पछि स्पोन्सरले नै खुलासा गरेका थिए कि अन्तरवार्ता लिने पत्रकार बशिरले आफूलाई केही लोभ दिएर डायनालाई यो अन्तरवार्ताको लागि राजी गराउन भनेका थिए । यो विवादमा केही फर्जी बैंक स्टेटमेन्टको समेत उल्लेख गरिएको थियो ।

बेलायतमा शाही परिवारको सम्मान र प्रतिष्ठालाई हेर्दा यो मामिला निकै ठूलो थियो ।त्यसैले यो विवाद कहिल्यै सेलाउन पाएन । बीबीसीले यसको जाँच गराउने आदेश दियो । अहिले ५८ वर्षका भइसकेका बशीरलाई यो विवादमा दोषी पाइयो । त्यसपछि बीबीसीले यो विवादका विषयमा खेद व्यक्त गरेको थियो ।

बशीरले शनिबार सन्डे टाइम्सलाई एक अन्तरवार्ता दिए । अन्तरवार्तामा उनले भने ‘मैले कहिल्यै चाहिन कि राजकुमारी डायनालाई कुनै नोक्सान पुगोस् । तर जे भयो त्यसको लागि म राजकुमार विलियम र राजकुमार ह्यारीसँग माफी माग्छु ।’ राजकुमार ह्यारीले बशीरको तौरतरिकामा प्रश्न उठाएका थिए ।

जवाफमा बशीरले भने ‘मलाई डायनाको जीवनमा भएका अन्य गलत कुराहरुको लागि जिम्मेवार मान्न सकिन्न । म र मेरो परिवारले पनि डायनालाई धेरै चाहन्थ्यौं । एकपटक उनी अस्पतालमा मेरी पत्नी र बच्चालाई हेर्न आएकी थिइन् । यो अन्तरवार्तापछि पनि मेरो र डायनाको सम्बन्ध मित्रवत रह्यो । अन्तरवार्ताको बारेमा डायनालाई हरेक कुराको जानकारी दिइएको थियो । उनीसँग केही लुकाइएको थिएन ।’

यो विवादको जाँच एक स्वतन्त्र आयोगले गरेको थियो । रिपोर्टमा यो अन्तरवार्ता बीबीसीको आदर्श अभ्यासको हिसाबको नभएको बताइएको थियो । बशीरमाथि त निकै गम्भीर प्रश्न उठाइएका थिए । त्यस क्रममा उनी जुनियर थिए । रिपोर्टपछि बीबीसीले यसप्रति खेद व्यक्त गर्दै माफी माग्यो । यो अन्तरवार्ताबाट करिअरको हिसाबले बशीरलाई धेरै फाइदा भयो । उनी एकपछि अर्को जागिर बदल्दै गए । उनले कैयौं अमेरिकी च्यानलमा पनि काम गरे । यो अन्तरवार्ता २ करोड ३० लाख मानिसले हेरेका थिए । डायनाले अन्तरवार्तामा आफ्ना पति राजकुमार चार्ल्स र क्यामिला पार्करको सम्बन्धबारे पनि खुलासा गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *