कोरोनाको उत्पत्तिलाई लिएर अमेरिका–चीन टकराव

डिसी नेपाल
१३ जेठ २०७८ १९:४०

काठमाडौं। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कहाँबाट कसरी मानवसम्म पुग्यो भन्ने रहस्य खुलिसकेको छैन। तर कोरोनाको पहिलो प्रमाणति केस चीनको वुहानमा २०१९ को डिसेम्बरमा फेला परेको थियो।

२०१९ को डिसेम्बरमा वुहानमा देखिएको कोरोना हालसम्म विश्वका सबैजसो देशमा देखिएको छ। र हालसम्म यो भाइरसका कारण करिब ३५ लाख मानिसहरुले ज्यान गुमाइसकेका छन् भने करिब १७ करोड मानिसहरु संक्रमित भएका छन्। नेपाल र भारत जस्ता देशहरु त कोरोना भाइरहेको चपेटमा अहिले पनि छन्। जबकी चीनमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आइसकेको छ भने यूरोपेली मुलुकहरुमा पनि अहिले स्थिति नियन्त्रणमा छ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै संक्रमित र मृत्यु अमेरिकामा भएको छ, त्यसपछि ब्राजिल र भारतमा भएको छ। विगत दुई वर्ष यता मानव सभ्यतामाथि नै खतरा उत्पन्न गराइदिएको यो भाइरसको उत्पत्ति कहाँबाट भयो भन्ने विषयमा भने अहिलेसम्म कुनै ठोस पुष्टि नभइरहेका बेला बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ९० दिन भित्र रिपोर्ट पेश गर्न आदेश दिएका छन्। उनले आफ्ना गुप्तचर एजेन्सीहरुलाई तीन महिनाको समयसीमा दिएर कोरोना भाइरसको उत्पत्ति कहाँ भएको प्रतिवेदन दिन भनेका छन्।

राष्ट्रपति बाइडेनले आदेशसँगै विश्व स्वास्थ्य संगठनले भाइरसको उत्पत्तिबारे हुने अर्को चरणको अनुसन्धान पारदर्शी हुनुपर्नेसमेत बताएका छन्। राष्ट्रपति बाइेडनको यो आदेश आउनुअघि नै अमेरिकामा कोरोना भाइरसको उत्पत्तिलाई लिएर चीनको नाम उछालिएको छ। अमेरिकी सञ्चार माध्यमहरुले कोरोना भाइरस चीनको ल्याबबाट चुहावट भएको समाचारहरु प्रकाशित गरिरहेका बेला बाइडेनको यो आदेश आएको हो।

बाइडेनको यो आदेशले चीन र अमेरिकबीच कोरोना भाइरसलाई लिएर फेरि टकराव हुने देखिएको छ। यसअघिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्थे। यसले चीन निकै चिढिएको थियो। चीन कुन हदसम्म चिढिएको थियो भन्ने विषय हालै दक्षिण एसियाली मुलुकहरुको संगठन सार्कका ६ वटा देशहरुसँगको छलफलपछि जारी सँयुक्त वक्तव्यमा कोरोनालाई लिएर हुने राजनीतिको भत्र्सर्ना गरिएको थियो। चनीकै अगुवाइमा भएको यो छलफललले यस्तो निर्णय हुनुले कोरोनालाई हुने चीनको आलोचनाप्रति उ कति आक्रोशित छ भन्ने देखाउँछ।

अमेरिकी सञ्चार माध्यमहरुमा चीनको वुहानस्थित एक प्रयोगशालाका तीनजना कर्मचारीहरुमा कोरोनाको जस्तै लक्षण २०१९ को नोभेम्बरमै देखिएको भन्दै प्रयोगशालाबाटै यो भाइरस चुहावट भएको हुनसक्ने दावी गरेपछि चीनले त्यसको आलोचना गरेको छ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता चाओ लिजियानले अमेरिकाको आलोचना गरेका छन्। उनले यो भाइरस अमेरिकाबाटै फैलिएको हुनसक्नेसमेत भन्दै पहिला अमेरिकाले अमेरिकामै अनुसन्धान गर्नुपर्ने बताएका छन्। उनले विश्व स्वास्थ्य संगठनले यसैवर्ष जनवरी र फेब्रुअरीमा वुहानमा गरेको अनुसन्धानमा चीनले सहयोग गरेकोसमेत दावी गरेका छन्। उनले यो अनुसन्धानमा चिनियाँ विशेषज्ञहरुले विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरुलाई तथ्यांक उपलब्ध गराएको र वुहानकोसमेत अध्ययनमा सहयोग गरेको बताएका छन्।

उनले अमेरिकाले तथ्यलाई तोडमोड गर्ने गरेको भन्दै जब कुनै महामारी आउँछ अमेरिकाले चीनमाथि आरोप लगाउने गरेको भन्दै अमेरिकाको आलोचनासमेत गरेका छन्। उनले यदि अमेरिका कोरोना भाइरसको उत्पत्तिबारे जान्न चाहन्छ भने उसले विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरुलाई आफ्ना प्रयोगशालाहरुमा अध्ययन गर्न दिनुपर्ने बताए। उनले अमेरिकाले चीनबाट सिक्नुपर्नेसमेत बताए। उनले वुहानमा पहिलो पटक कोरोना पुष्टि हुनुअघि नै विश्वमा कोरोना फैलिसकेको दावीसमेत गरे।

यसे वर्ष विश्वस्वास्थय संगठनले वुहान पुगेर गरेको अध्ययनपछि कुनै ल्याबबाट यो भाइरस चुहावट भएको हुनसक्ने सम्भावना निकै न्युन रहेको जनाएको थियो। तर, अझै खोज तथा अनुसन्धान आवश्यक रहेको बताएको थियो। (विभिन्न एजेन्सीहरुको सहयोगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *