एचआइभी संक्रमित महिलाको शरीरमा कोरोनाभाइरस ३२ पटक रुप फेरेर २१६ दिनसम्म रह्यो
काठमाडौं। कोरोनाभाइरसले पछिल्लो समय रुप परिवर्तन गर्दै नयाँ नयाँ भेरिएन्टहरु बन्ने र ती भेरिएन्टका फरक फरक असरहरु देखिने क्रम चलिरहेको छ । यही क्रममा दक्षिण अफ्रिकामा कोरोनाभाइरसको निकै फरक किसिमको असर देखिएको छ । यहाँ एचआइभी पोजेटिभ एक महिलाको शरीरमा कोरोनाभाइरसले ३२ पटक रुप परिवर्तन गरेर अर्थात म्युटेसन भएर २१६ दिनसम्म रहेको पाइएको छ ।
मेडआरजीभ मेडिकल जर्नलमा प्रकाशित शोधपत्रका आधारमा बिजनेस इनसाइडरमा प्रकाशित रिपोर्टअनुसार दक्षिण अफ्रिकाकी ३६ वर्षकी एचआइभी संक्रमित ती महिलाको शरीरमा कोरोनाभाइरस २१६ दिनसम्म रह्यो । यस क्रममा सबैभन्दा आश्चर्यजनक कुरा यो थियो कि भाइरसले यो अवधिमा ३२ पटक आफ्नो रुप परिवर्तन गर्यो । यो अध्ययनका लेखक वैज्ञानिक टुलियो डि ओलिभिराले लस एन्जल्स टाइम्ससँग कुरा गर्दै यस्तै किसिमका अन्य केसहरु पनि भेटिएमा यसले एचआइभी संक्रमण नयाँ भेरिएन्टको स्रोत हुन सक्ने आशंका बढाउने बताइन् ।
यी महिलामा सबैभन्दा पहिले लक्षण देखिएपछि उनको परीक्षण गराइएको थियो । परीक्षणमा उनी पोजेटिभ देखिइन् । सुरुवाती उपचारपछि पनि महिलामा हल्का लक्षण थिए तर भाइरस उनको शरीरभित्रै रह्यो । त्यसपछि भाइरसको स्पाइक पेटिनमा १३ पटक म्युटेसन भयो । यही स्पाइक प्रोटिनको पहिचान गरेर नै धेरैजसो भ्याक्सिनले भाइरसमाथि असर गर्छन् । यी महिला अन्य ३०० सय महिलासँगै एक अध्ययनमा सहभागी भएपछि यी महिलाको केसको खुलासा भएको थियो ।
यस्ता बिरामीको शरीरमा भाइरस लामो समयसम्म रहन्छ र यस क्रममा भाइरसले म्युटेसनको मौका पाउँछ । ओलिभिराका अनुसार उपचारपछि पनि भाइरस महिलाको शरीरभित्रै थियो । अध्ययनका अनुसार ४ अन्य मानिसहरुको शरीरमा पनि भाइरस १ महिनाभन्दा लामो समयसम्म थियो । यद्यपि यी महिलाको केस भने आफ्नो किसिमको निकै अनौठो केस हो । एक तथ्य यो पनि हो कि रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसमा लामो समयसम्म भाइरस रहेको देखिएको छ र एचआइभीले मानिसको प्रतिरोधी क्षमतामै आक्रमण गर्छ ।
यो अध्ययन खासगरी दक्षिण अफ्रिका र विश्वका अन्य क्षेत्रको लागि पनि महत्वपूर्ण हुने मानिएको छ किनकि २०२० मा दक्षिण अफ्रिकाका २ करोड मानिस एचआइभी संक्रमित भएको तथ्यांक सार्वजनिक भएको थियो । विश्व स्वास्थ्य संगठनले पनि दक्षिण अफ्रिकामा बढिरहेका केसहरुलाई लिएर यहाँ तेस्रो लहरको चेतावनी दिएको छ ।







डिसी नेपाल








Facebook Comment